सुनसरीमा गोली हानी हुसेनको हत्या, मुस्लिम समुदायमाथि आक्रमण भइरहेको भन्दै प्रदर्शन


नेपाल कुरा

काठमाडौं । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो ।

मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।
मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।

यसैबीच हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ ।

उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी-५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।

यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ ।