बेलायतमा थप १ नेपालीको कोरोनाबाट मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो


Rai

एजेन्सी । बेलायतमा पूर्व गोरखा सैनिक ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । गुरुङसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

पुर्खौली घर कास्की घान्द्रुकका गुरुङ लन्डनमा घरमै सेल्फ आइसोसेसनमा बसिरहेका बेला श्वास फेर्न गाह्रो भएपछि करिब १० दिनअघि अस्पताल भर्ना भएका थिए । लन्डनको रोयल बक्सायर अस्पताल रेडिङमा गुरुङको मृत्यु भएको हो । गुरुङ रेडिङ बुद्धिष्ट गुम्बाका आजिवन सदस्य र घान्द्रुक रेडिङ समाज युकेका अध्यक्ष थिए । पारिवारिक स्रोतका अनुसार उनमा विगतमा कुनै स्वास्थ्य समस्या थिएन ।

गुरुङका श्रीमती र तीन छोरीहरु लन्डनमै छन् । परिवारको सबैको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको पनि पारिवारिक स्रोतले जनाएको छ ।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बेलायतमा सोमबारसम्म १० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।