५ एजेन्डामा छलफल गर्न एन्फाको कार्यसमिति बैठक बस्दै


Rai

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । समसामहिक बिषयमा छलफल गर्न भन्दै एन्फाले कार्यसमिति बैठक बोलाएको हो ।

भिडियो कन्फरेन्समार्फत हुने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुनेछ । कोरोना भाईरसको महामारीका बीच एन्फाले सबै प्रदेश र जिल्लासंग बार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरेको छ । बैठकले बार्षिक बजेटका बिषयमा औपचारिक निर्णय गर्नेछ ।

यस्तै, कोरोना प्रभावितलाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो ।

सोही अनुसार एन्फाले प्रत्येक जिल्ला, क्लब, खेलाडी र अफिसियलबाट लगत संकलन गर्दै प्रस्तावित बजेट फिफा समक्ष पठाएको छ । फिफाबाट प्राप्त राहत वितरणको सम्बन्धमा बैठकले औपचारिक निर्णय गर्नेछ । बैठकले संघको बार्षिक साधारण सभाका सम्बन्धमा समेत औपचारिक निर्णय गर्नुपर्नेछ ।

कोरोना महामारीका कारण चैतमा तय भएको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको थियो । सोमबारको बैठकले एन्फाको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्ने अपेक्षा गरिएको छ ।