डोटीमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु


Rai

डोटी । क्वारेन्टाइनमा बसेका एक युवकको डोटीमा आइतबार विहान मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी रहेको बुझिएको छ । भारतको दिल्लीबाट आएका उनी जेठ २० गतेदेखि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी लामो समयदेखि मुटुको रोगी भएका कारण उनको हेरचाहका लागि उनका बाबु खटिएका थिए । मृतकका बुवा लगायत अन्य १० जना समेत सो क्वारेन्टाइनमा बसेका छन् । मृतक युवा लगायत क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए ।

स्वाबको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।