सीमाको अवस्था बुझ्न प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानी प्रस्थान


नेपाल कुरा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज बिहानै कालापानी प्रस्थान गरेका छन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेको हुन् ।
त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएको गृह स्रोतले जानकारी दियो। त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जानेछन्।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।