एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


Yukta

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । यस कम्पनीले साउन १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यस आईपीओमा मंगलवार साझ ५ बजेसम्म ४ दशमलव ४४ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस अवधिसम्म ३ लाख ३४ हजार २९२ जना आवेदकले १ करोड ४० लाख ५३ हजार ७६० कित्ता आईपीओ खरिदका लागि आवेदन दिएका हुन । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउछ ।