राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


नेपाल कुरा

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेर उनको अन्त्येष्टि गरिएको हो ।

यसअघि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको १०१ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत/वैशाख काव्यसङ्ग्रह चर्चित छन् ।