अन्तर्राष्ट्रिय नारी दिवस: महिला आन्दोलन


नेपाल कुरा

खेम थपलिया
“महिलाहरूको व्यापक सहभागिताबिना समाजवादको स्थापना असम्भव छ ।”
– भीआई लेनिन
विषयारम्भ
विश्वमा महिला आन्दोलनसम्बन्धी भएको बहस यथेष्ट मात्रामा हुँदै आएका छन् । नेपालका आमूल परिवर्तनकारी अभियानमा विशेषतः एक दसकको जनयुद्धमा नेपाली क्रान्तिकारी महिलाहरूको सशरीर सहभागिताले यसको वर्गपक्षधरता र वर्गीय प्रतिवद्धतालाई नै प्रमाणित गरिसकेको छ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई नेपाली क्रान्तिको कार्यदिशाका रूपमा अघि सारेपछि नेपालका उत्पीडित तथा आम महिलाहरूमा एउटा आशा, एउटा सुन्दर भविष्य र एउटा समृद्ध सपना साकार हुने अपेक्षामा अभिवृद्धि भएको छ ।
मातृसत्ताप्रधान समाजको अन्त्यपछिको विश्व आज अनेकन् सङ्कटहरूबाट गुज्रिरहेको छ । संसारका आधाभन्दा बढी सङ्ख्यामा रहेका महिलाहरू आज मुक्तिको आकाश खोजिरहेका छन् । दस वर्षका जनयुद्धको अपूर्णताले नेपाली समाज र मूलतः महिला समुदाय नयाँ नयाँ चुनौतीका बिचबाट गुज्रन बाध्य छन् । नेपालमा मात्र होइन, विश्वमा नै सामाजिक पम्परामा महिलाहरू पुरुषभन्दा अयोग्य हुन्छन्, उनीहरूको काम घर–गृहस्थीसम्म सीमित हुनु हो भन्ने मनोविज्ञान जबर्जस्त रहेको पाइन्छ । महिलाहरूमा रहेका अद्भूत क्षमतालाई पितृसत्तात्मक समाजले निरन्तर नकार्दै आएको लामो परम्परा नै बनेको छ । यद्यपि विश्व इतिहासमा महिलाहरूले ज्ञान, विज्ञान, साहित्य र राजनीतिमा महत्वपूर्ण योगदान दिंदै आएको यथेष्ट प्रमाण हामी सबैका सामु छँदै छ तर पनि हाम्रो सन्दर्भमा अहिले खट्किएको मुख्य कुरा भनेको नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा महिलाहरूको व्यापक सहभागिता हो । नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षका सबै आयाममा महिलाको सार्थक उपस्थिति गराउनु आजको चुनौती पनि हो । महिला आन्दोलनका अघि खडा भएका अजङ्गका काला पहाडहरूलाई पन्छाउँदै अघि बढ्नु आजको आवश्यकता हो । कुनै पनि मूल्यमा यही आवश्यकता पूरा गर्नुको विकल्प छैन ।
अन्तर्राष्ट्रिय महिला नेतृहरूको सन्दर्भ
खास गरेर विश्वका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सक्रिय र महत्वपूर्ण भूमिकामा महिलाहरू रहँदै आएका छन् । जेनी माक्र्स, क्रुप्सकाया, रोजा लक्जेम्वर्ग, अलेक्जान्ड्रो, क्लारा जेट्किन, इलेनर माक्र्स, चिङचाङ, नतासा आदिको भूमिका धेरै माथिल्लो स्तरमा रहेको पाइन्छ । उनीहरूले विश्व सर्वहारा मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गरेका थिए । जेनी कार्ल माक्र्सकी पत्नीका साथै, सम्पन्न परिवारकी भएर पनि क्रान्तिकारी कार्य तथा विचारका कारण उनले आजीवन अनेकन् अभाव र समस्या झेल्नुप¥यो । उनका बारेमा एङ्गेल्सले यसो भनेका थिए, ‘अर्काको खुसीमा नै आफ्नो खुसी देख्ने कुनै नारी थिइन् भने त्यो जेनी माक्र्स नै हुनुहुन्थ्यो ।’ उनकी कान्छी छोरी इरेना माक्र्सले यसो भनेकी थिइन्, ‘जेनी वोन वेस्टाफालेन नभएको भए, कार्ल माक्र्स जे बन्नुभयो, त्यो कहिल्यै बन्न सक्नुहुने थिएन । उल्लेखनीय रहेको दुईजनाको जीवन यस्तो एउटै, यस्तो एक अर्काको पूरक कहिल्यै रहेको थिएन ।’ एङ्गेल्सले जेनी माक्र्सको समाधिमा उभिएर गरेको सम्भाषणले पनि अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनका साथै, समाजवादी आन्दोलनमा महिलाहरूले पु¥याएको भूमिको अर्थबोध गर्न सकिन्छ ।
त्यस्तै, क्रुप्स्काया लेनिन पत्नी मात्र नभएर क्रान्तिकारी नेतृ थिइन् । उनको समाजवादी क्रान्तिमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ । साथै, विश्व कम्युनिस्ट आन्दोलनमा रोजा क्रान्तिकारी बुद्धिजीवीका रूपमा स्थापित छिन् । लेनिनको मृत्युपछि क्रुप्स्कायाले ‘लेनिनको सम्झनामा’ शीर्षकमा लेनिनको जीवनसम्बन्धी महत्वपूर्ण पुस्तक लेखिन् । उनले श्रीमानको मृत्यु भएपछि सालिक र स्मारक बनाउनुको सट्टा विद्यालय बनाऔँ भनेर उद्घोष गरेकी थिइन् । समाजवादी क्रान्ति सम्पन्न पार्नेक्रममा उनको सहादत भयो । क्लारा जेट्किन लेनिनका समकालीन थिइन् । उनी पनि समाजवादी आन्दोलन र महिला मुक्ति आन्दोलनकी विश्वप्रसिद्ध नेतृ हुन् । इलेनर कार्ल माक्र्सकी छोरी हुन् । समाजवादी आन्दोलनमा सक्रिय उनले प्रेममा भएको धोका कारण आत्महत्या गर्नुपरेको थियो । त्यस्तै, सुङ चिङ लिङ सन् यात्सेनकी पत्नी त थिइन् नै, साथै उनको परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । माओपत्नी तथा सहयोद्धा च्याङ चिङको सर्वहारा सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका रहेको कुरा हामी सबैलाई थाहा छ । उनी परम्पराविरुद्ध सशक्त विद्रोही नेतृ थिइन् । भनिन्छ, १५ वर्षको कारावासपछि उनको जेलमा हत्या भयो । उनले थोत्रा विचारहरूसित नाता तोडेकी थिइन् । नतासा रुसकी क्रान्तिकारी महिला हुन् । उनको जीवन त्याग र बलिदानले भरिएको थियो । एक बोल्सेभिक महिला सङ्गठक पनि थिइन् । उनी सामोइलोभा जिल्लाको पार्टी समितिको भूमिगत पत्रिका ‘सङ्घर्ष’ मा काम गरेकी थिइन् । उनी पछिल्लो चरणमा ‘प्राब्दा’ मा जोडिएर जनपक्षीय पत्रकारिताको भूमिका निर्वाह गरेकी थिइन् ।
विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी महिलाहरूले निकै ठूलो योगदान गरेका छन् । उनीहरूले आफ्नो समयमा साहस, वीरता, शौर्य र बलिदानका उच्च कीर्तिमान कायम गरेका छन् । नेपालका क्रान्तिकारी लेखक, साहित्यकार तथा कलाकारहरूले माओको येनान प्रवचन र नक्सलाइड अभियानबाट अनुप्राणित भएजस्तै नेपालका क्रान्तिकारी महिलाहरूले पनि विश्वका क्रान्तिकारी महिला आन्दोलन र तिनका नेतृत्वबाट यथेष्ट प्रेरणा प्राप्त गरेका छन् ।
जनयुद्ध र नेपाली क्रान्तिकारी महिलाहरू
नेपालमा सामाजिक तथा क्रान्तिकारी महिला अभियन्ताहरूले आ–आफ्नो समयमा आ–आफ्नै तरिकाले योगदान गर्दै आएका छन् । आध्यात्मिक चेतनाद्वारा प्रेरित भए पनि योगमायाको जलसमाधि सामाजिक सुधारको एउटा विद्रोह थियो । साधना र साहना प्रधानहरूले पनि नेपालको महिला आन्दोलनलाई उठाउन आ–आफ्नो समयमा राम्रै योगदान नगरेका होइनन् । पारिजातको भूमिका त सबैलाई थाहा छँदै छ । नेपालको इतिहासमा भएका सबै किसिमका वर्गसङ्घर्षमा नेपाली महिलाहरूले आ–आफ्नै तरिकाले योगदान दिंदै आएका छन् । यी सबैको उत्कर्ष महान् जनयुद्ध थियो । यसमा हामफालेका नेपाली क्रान्तिकारी महिलाहरूले आफ्नो ताकत, क्षमता, प्रतिभा र सामथ्र्य देखाएका छन् । नेपाली समाजमा व्याप्त रहेको जाँड, रक्सी, जुवा, तासजस्ता विकृति विरुद्धमा आन्दोलन चर्काउँदै अघि बढेको महिला आन्दोलनले भूमिगत रूपमा वर्गसङ्घर्षलाई भौतिक रूपमा सघाउनु, नेतृत्वसम्म गर्नुले यसको उच्चताबोध गराउँछ । प्रतिक्रियावादी सत्ताले क्रान्तिकारी महिलाहरूलाई गिरफ्तार गर्ने, यातना दिने, बलात्कार गर्ने, आतङ्ककारी घोषण गर्ने, टाउकोको मूल्य तोक्ने, हत्या गर्नेसम्मको हर्कतहरूको निकै लामो सूची रहेको छ । तत्कालीन सत्ताका मतियारहरूले खडा गरेका सम्पूर्ण दमन र अत्याचारका विरुद्ध सशक्त प्रतिरोध गर्दै नेपाली वर्गसङ्घर्षमा उनीहरूले आफ्नो नाम स्वर्णाक्षरले लेखेका छन् ।
नेपालका क्रान्तिकारी महिलाहरू माक्र्सवाद–लेनिनवाद–माओवादवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै सशस्त्र सङ्घर्षलाई स्वीकार गर्दै प्रत्यक्ष सहभागी मात्र भएनन् कि वर्गीय मुक्ति नभई महिला मुक्ति सम्भव हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई आम उत्पीडित महिलाहरूका बिचमा स्थापित गरेका छन् । नेपालको महिला आन्दोलन ग्रामीण क्षेत्रका आधारभूतहबाट संकेन्द्रित मात्र भएन कि जनसत्तामा ४० प्रतिशत महिला सहभागिता भयो । नेपाली महिलाहरूलाई घरेलु कामकाज र चुलोचौकोबाट बाहिर निकाल्ने काम पनि जनयुद्धबाटै भएको हो । महिलाहरूमा सर्वहाराकरणको स्पिरिट कायम गर्दै फौजीकृत हुने कुरा पनि नेपालको सन्दर्भमा सामान्य परिघटना हुन सक्तैन । छापामार युद्धमा महिलाहरू सहभागी हुँदै जनयुद्धको पछिल्लो चरणमा जनमुक्ति सेनामा ३५ प्रतिशत महिलाको सहभागिता रहनु गरिमापूर्ण कुरा थियो । यसक्रममा करिब २ हजार महिलाले सहादत प्राप्त गरे । घाइते, अपाङ्गको कुनै लेखाजोखा नै रहेन ।
२०५४ साल चैत २६ गते कालीकोटका निःशस्त्र महिलाहरूले आफूमाथि दमन गर्न आएका प्रहरीहरूको राइफल खोसी पार्टीलाई बुझाउनु, २०५३ मङ्सिर १ गते रोल्पाको मिरुलमा कुमारी बुढालाई जिउँदै आँखा निकाली शरीरमा मट्टीतेल खन्याई जलाएर मारिँदा पनि पार्टीको गोपनीयता कायम राख्नु, २०५३ पुस १९ गते बेथान प्रहरी चौकीमा आक्रमण गर्दा दिलमाया योञ्जनले सहादत प्राप्त गरी पहिलो सैन्य महिला सहिद हुनु तथा २०५७ चैत १८ गते गोरखा जेलमा रहेका ६ जना महिला बन्दीहरूले उमा भुजेलको नेतृत्वमा सुरुङ्ग खनेर जेलब्रेक गर्नुजस्ता वीरता र बलिदानका सयौं प्रतिनिधिमूलक परिघटना हामी सबैका सामु छँदैछन् । सल्यान, शिवरथ १, लोरावाङ्गकी बटी पुन र फलावाङ्गकी अमृता वलीले नेपालको वर्ग सङ्घर्षमा गरेको योगदान, प्राप्त बलिदान र प्रेरणा विश्वस्तरमा रहेको छ । उहाँहरू महान् आमाको रूपमा स्थापित हुनुहुन्छ ।
जनयुद्धमा नेपाली क्रान्तिकारी महिलाहरूले उच्च बलिदान गरेका छन् । अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी० केन्द्रीय समितिबाट इन्दिरा तिवारी, सुमित्रा घिमिरे, कुमारी मगर, माया भाट, सीमा चौधरी, शशीकला शर्मा, जशोदा कन्दङवा, चुनु गुरुङ तथा शारदा श्रेष्ठको बलिदान बिर्सन मिल्ने र हुने कुरा नै होइन । तर, दुःखद् कुरा यो छ कि संसार हल्लाउने सङ्घर्षका नायकहरू आज संसदीय भासमा जाँकिन पुगेका छन् । उनीहरू सहिदको रगतको व्यापारी बनेका छन् । राष्ट्रिय आत्मसमर्पणवाद र नवसंशोधनवादको बाटो हुँदै उनीहरू आज प्रतिक्रियावादी सेवकका पङ्क्तिमा उभिन पुगेका छन् । रातो झन्डा ओढेर रातो झन्डाको अपमान गर्नु आज उनीहरूको नियमित कर्म बनेका छन् । कोही अकर्मण्यतावादका फसेका छन् । ‘फलानाले क्रान्ति गर्न सक्तैन’ भनेर दिन कटाएर बस्नु पनि मिहीन–नवसंशोधनवाद नै हो । यी र यस्तै यस्तै प्रवृत्तिका विरुद्धको कठोर सङ्घर्ष गर्नु पनि हाम्रो सामुन्ने अनिवार्य बनेर उपस्थित भएको छ ।

एकीकृत जनक्रान्तिले परिकल्पना गरेको नेपाली महिला
देशको आधाभन्दा बढी जनसङ्ख्या रहेको महिलाको अवस्था अहिले निकै दयनीय रहेको छ । हुन त केही मानिसहरू यसो पनि भन्न सक्तछन् कि अहिले राष्ट्रपति भएको बेला पनि महिलाले अधिकार पाएनन्, पाएका छैनन् भन्न मिल्छ रु उनीहरू आन्दोलनबाट त्यहाँ पुगेका हुन् तर उनीहरू उत्पीडित जनता तथा महिलाहरूको पक्षमा काम गर्न त्यहाँ पुगेका होइनन्, पठाइएका पनि होइनन् । कसैले यस्तो दावी गर्छ भने वास्तवमा त्यो कुरा सत्य होइन । प्रश्न न राज्यसत्तासित जोडिएको विषय हो । यो राज्यसत्ता महिलामैत्री नै छैन । यहाँका प्रतिनिधिहरू जनविरोधी र प्रतिक्रियावादी चरित्रका रहेका छन् । वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको प्राप्तिमा महिलाको भूमिका अहम् हुन्छ भनिए पनि हाम्रो सन्दर्भमा त्यो अहम् भूमिकाको स्पष्ट व्याख्या गरिएको पाइँदैन । नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षको यो पङ्क्तिको विषयमा स्पष्ट व्याख्या गरिदिनुपर्दछ । एकीकृत जनक्रान्तिले यस दिशामा केही पहलकदमी लिएको छ । यसलाई अझै तीब्रता दिन आवश्यक छ । महिलाको क्षेत्रलाई लैङ्गिक विषयमा सीमित नगरेर वर्गीय मुक्ति आन्दोलनमा समान भूमिका साथ समाहित गर्नु, गराउनु आजको आवश्यकता हो ।
महिलाहरूले साम्यवाद निर्माणको लक्ष्यसित आफूलाई जोड्ने प्रयास गर्नुपर्दछ । महिला आन्दोलन कुनै धार्मिक सम्प्रदाय होइन । यो आंशिक होइन, समग्र र संवेदनशील क्षेत्र हो । नेपालमा महिलाको अवस्था भयावह छ । यो संवेदनशीलतालाई नेकपाले आत्मसात् गरेको अनुभूति गर्न सकिन्छ । महिलाबारे ९२०७१ पुस २३–२६ सम्म दाङको तुलसीपुरमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत तथा पारित दस्तावेजमा भनिएको छ, ‘सङ्क्रमणकालको नकारात्मक प्रभाव महिला क्षेत्रमा पनि देखिएको छ । सामन्ती र दलाल पुँजीवादी शासनले महिलामाथि लादेका विभेद र उत्पीडनलाई जनयुद्धको प्रवाहले निकै कमजोर बनाइदियोे । पुरुषको हैकम, समाजको विभेद सबैलाई भत्काइदियो । महिलाहरू स्वतन्त्रतापूर्वक हरेक क्षेत्रमा सहभागी बन्ने अवसर र अधिकार प्राप्त गर्न पुगे । सत्ता, सेना, विभाग, कर्मचारी सबैतिर उल्लेख्य मात्रामा महिला सहभागिता रह्यो । जनयुद्ध र जनसत्ताको पछिल्लो तथ्याङ्कअनुसार सत्तामा महिला सहभागिता ४० प्रतिशत पुगेको थियो भने जनमुक्ति सेनामा सहभागी सङ्ख्या ३५ प्रतिशत पुगेको थियो । तर, सङ्क्रमणकालले यो सबै अवस्थालाई उल्टाउँदै महिला सहभागितालाई सबैतिरबाट विस्थापित गरिदियो । यतिबेला देशमा महिलाको स्थिति निकै कमजोर बन्न पुगेको छ । महिला असुरक्षा चर्को रूपले बढेको छ । जबर्जस्ती करणी मौलाएको छ । समाजमा बोक्सी जस्तो जङ्गली आरोप लगाएर ज्युँदै जलाउने कार्य भइरहेको छ । रोजगारीको बहानामा विदेशमा लगेर यौनदासी बनाइएको छ । हिजो गैर–कानुनी रूपले बेचिने गरेका महिला आज कानुनी रूपले नै बेचिन थालेका छन् ।’
नक्सलवादी आन्दोलन उठान हुनुअघि प्रहरीद्वारा आदिवासी महिला पुरुषमाथि अन्धाधुन्ध गोली चलाउँदा १२ जना मारिएका थिए, ती मारिनेमध्ये ७ जना त महिला नै थिए । आज भारतको प्रख्यात नक्सलवादी आन्दोलनको जगमा उठेको महिला आन्दोलनमा महिलाको बलिदानको ठूलो मूल्य रहेको छ । इतिहासको जगमा वर्ग सङ्घर्ष ठडिएको हुन्छ । यसबारे भारतीय बहुचर्चित लेखिका महाश्वेता देवी जो ‘हजार चौरासीकी आमा’ उपन्यासकी स्रष्टा पनि हुन्, उहाँ भन्नुहुन्छ, “इतिहास नै अन्तिम चेतावनी हो । पुरानो आन्दोलनको साथ तेभागा आन्दोलन पनि गठित भयो र त्यसको परिणाममा नक्सल आन्दोलन । र, यस आन्दोलनको आवश्यकताले नै ऊ यो भूखण्डमा आइपुगेको हो । कुनै समयमा रातो रङ फराउँथ्यो । त्यस ठाउँलाई लाल रङपुर भनिन्थ्यो । समग्र तेभागा आन्दोलनको स्थान कम्युनिस्ट पार्टी मातहत थियो । दिनाजपुरमा त एकदमै जोडदार आन्दोलन भयो । त्यसपछि हाटखोलामा, खुलनाको विष्णु विश्वासको डुमुदियर आन्दोलन भयो, कतिवटाको नाम गनौँ रु यो निरन्तर आन्दोलन कहाँबाट भयो रु शोषित वर्गका मान्छेहरूको वर्ग संरचनाबाट । यो सबै भूमि बन्जर थियो, माटोबिना केही पनि जीवित रहँदैन, त्यसैबाट तमाम आन्दोलनको जन्म हुन्छ, ९१५० ( विकल्प २ ( २०७३० ।”
यो कुरा पनि सत्य हो कि नेपाली समाजका महिलाको एक हिस्साले महिलाकै नाम भजाएर आतङ्क फैलाइरहेका छन् । उनीहरूमा गरगहना, धर्म, सम्पत्ति र तडकभडकमा बढेको तीब्र लालसाले अहिले खास महिलाजगत् आश्चर्यचकित भएको छ । सँगसँगै केही महिलाहरूले छाउ गोठमै, सालनालमै मर्नुपर्ने बाध्यता पनि विद्यमान छ । यसलाई तुरुन्त बदल्न आवश्यक छ । त्यसैले त, एकीकृत जनक्रान्तिले महिला आन्दोलनलाई ‘विशिष्ट रूप’ का रूपमा स्वीकार्दै यसलाई वर्गीय आन्दोलनमा एकाकार गरेर अघि बढाउन चाहन्छ र सोही दिशामा पहल गरिरहेको पनि छ । पछिल्लो चरणमा एकीकृत जनक्रान्ति र सामाजिक फासिवादी ओली सरकारद्वारा लादिएको प्रतिबन्धको प्रतिरोधी आन्दोलनमा नेपाली क्रान्तिकारी महिलाहरूले गरेको योगदान अतुलनीय रहेको छ ।
लेनिनलाई गोली हान्ने पनि महिला नै थिइन्
महान् अक्टोबर क्रान्तिका नायक लेनिनलाई गोली हानिएको थियो । त्यसरी गोली हान्ने महिला नै थिइन् । उनको नाम फेन्या कप्लान थियो । त्यहाँ भएको के थियो भने सत्ता सम्हालेपछि लेनिनको बोल्सेविक पार्टीले अटुट रूपमा आर्थिक विचार र नीतिहरू लागु ग¥यो तर ती प्रत्युत्पादक सावित भए । भोकमरी सुरु भयो, सहरबाट मानिसहरू रित्तिए र मानिसको जीवनस्तरमा खतरनाक गिरावट आयो । यी नीतिहरू यति अलोकप्रिय भए कि सन् १९२१ को मध्यमा यसमा परिवर्तन गर्दा लेनिनले यसको इतिहास बेग्लै तरिकाले लेख्ने प्रयास समेत गर्नुप¥यो । सन् १९१८ देखि सन् १९२१ सम्म बोल्सेबिकले उपयोग गरेको नीतिलाई ‘युद्ध कम्युनिजम’ को रूपमा चिनिन्छ जुन युद्धको अवस्थाले निम्त्याएको एउटा अस्थायी अवस्था थियो । लेनिनको प्रयास पूर्ण समाजवाद ल्याउने थियो तर त्यो अवश्य पनि सरल र सहज थिएन । क्रान्ति गर्न त्यति गा¥हो नहुने तर क्रान्ति सम्पन्न भइसकेपछि त्यसको व्यवस्थापन गर्न धेरै नै कठिी हुने कुरा हामी रसियन क्रान्ति र त्यसपछिका परिघटनाबाट थाहा पाउन सक्छौँ । व्यवस्थापनका कतिपय उल्झनले रुष्टताको मात्रामा वृद्धि गर्दै छ भन्ने कुरा भीआई लेनिनलाई पनि थाहा थियो ।
फेन्या कप्लान गरिब किसान परिवारमा जन्मेकी थिइन् । क्रान्तिकारी राजनीतिमा कप्लान आवद्ध भइन् र सोसलिस्ट रिभोल्सनरी पार्टीको सदस्य बनिन् । सन् १९०७ मा किममा जार अधिकारीलाई मार्ने योजनामा उनले भाग लिइन् र कप्लानलाई समातियो र साइबेरियामा आजन्म कठोर कारावासको सजाय दिइयो । ११ वर्षपश्चात् उनी जेलमुक्त भइन् । ३० अगस्ट सन् १९१८ मा लेनिनले मास्कोको एउटा सभामा बोले । जब लेनिनले सभा छाडे तब कप्लानले उनीसँग कसरी देश चलाइरहेका छौ भनेर सोध्ने प्रयास गरिन् । कारमा चढ्नुभन्दा पहिला उक्त महिलालाई जवाफ दिन लेनिन फर्किए । त्यही बखत कप्लानले उनीमाथि ३ गोली दागिन् । दुईवटा गोली लेनिनको शरीरमा छि¥यो र अवस्था जटिल थियो । ३ सेप्टेम्बर १९१८ मा एउटा बाल्टिक नाविक पावेल माल्कवले फेन्या कप्लानलाई गोली हानेर मारिदिए । उनको लास गाडिएन किनकि उनको अस्थी सम्पूर्ण रूपले नष्ट होस् । यो फेन्याप्रतिको चरमघृणा र लेनिनप्रतिको उच्चप्रेमको द्योतक थियो ।
गिरफ्तारपछि फेन्याले यसो भनेकी थिइन्, “आज मैले लेनिनलाई गोली हानेँ । यो मैले आफैँ गरेको हो । कसबाट मैले बन्दुक पाएँ, म भन्दिनँ । म कुनै व्याख्या गर्दिनँ । मैले लेनिनलाई मार्ने विचार पहिल्यै तय गरेको थिएँ ।”
निष्कर्ष
परिवर्तनकारी आन्दोलनमा महिलाको सहभागिता मात्रै होइन कि उनीहरूलाई नीति निर्माण र नेतृत्वको तहमा त्यही समुदायको प्रतिनिधित्व हुनेगरी उठाउन जरुरी छ । फेरि, समाजवादले एउटा नयाँ जीवनको कसरी रचना गर्नेछ भन्ने कुराको बहस चलाउन आवश्यक छ नै, यसको साथै महिलाको सङ्कटपूर्ण अवस्थालाई सामाजिकीकरण र साधारणीकरण गर्दै उनीहरूलाई राजनीतिक, वैचारिक र नेतृत्वदायी ऊध्र्वगामी दिशा दिनु आजको आवश्यकता हो । नेपालमा महिलाको अवस्था भनेको लेनिनको चिठीवाला किसान जो हरेक बिहानीको झुल्कासँगै घोडाको पैसा माग्न ढाकोमा आइपुग्थ्यो, त्यस्तै भएको छ ।
लेनिनले भनेका थिए, “विवाह एउटा अत्याचारी प्रकृतिको जोरजुलुम हो ।” त्यसो भए हामीले एकैपटक यो वैवाहिक सम्बन्धलाई खारेज गर्न सक्छौँ त रु प्रश्न यो पनि रहेको छ । अहिले ‘लिभिङ टुगेदर’ को चलन बढ्दै छ । यसका पनि आ–आफ्नै दावी र गुण–दोष होलान् । जे होस्, कुरा यति मात्र हो कि महिलाहरूसित जोडिएका मुद्दालाई औपचारिक, सामान्य र सतही मानिनुहुँदैन ।
हो, हामीलाई थाहा छ कि साम्यवादी व्यवस्थाबिनाको महिलो मुक्ति असम्भव छ । त्यहाँ पुग्न पनि त समस्त उत्पीडनका बन्धनहरू तोड्दै जानुपर्दछ । त्यसैले हामीले यसतर्फको बाटोमा निरन्तर लडिरहनुपर्दछ । निरन्तर क्रान्तिको सिद्धान्तले मात्र हामीलाई क्रान्तिको सफलताको सन्निकट पु¥याउँछ । हामीले महिलाको मानवीय र सामाजिक अवस्था तथा उत्पादनका व्यक्तिगत स्वामित्वबिीको सम्बन्ध कायम राख्न सक्नुपर्दछ । आर्थिक पुर्निर्माण र त्यसको स्वामित्व तथा वैचारिक उपरिसंरचनामा बराबरीको हैसियत कायम गर्दै जानुपर्दछ । सिद्धान्तहरूको स्पष्ट बुझाइ र सङ्गठनात्मक आधारमा गरिने महिला परिचालन क्रान्तिकारी कम्युनिस्ट पार्टीको विजयको मुख्य सार हो ।
महिलाहरूलाई क्रान्तिकारीकरण गर्ने प्रश्न पनि महत्वपूर्ण कुरा हो । महिला आन्दोलन वा सहभागितालाई माथि उठाउने हो भने आन्तरिक वा बाह्य रूपमा प्रसूतिगृह, मातृशिशु केन्द्र, मातृ स्वास्थ्य केन्द्र, अनाथ बच्चाहरूको हेरचाह र शिक्षा दीक्षा, एकल तथा बेराजगार महिलाहरूको लागि उचित उत्पादनमुखी कार्यको पवद्र्धनलगायतका विषयमा राजनीतिक पार्टीले पनि छुट्टै संरचनाको विकास गर्नुपर्दछ । भन्नलाई चाहिँ प्रतिक्रान्तिलाई रोक्ने मुख्य हतियार भनेकै महिला हुन् भन्ने तर त्यसैलाई असहाय, बेसहारा, शस्त्र–शक्तिहीन बनाइदिने कुराले राजनीतिक व्याकरणको गडबडीलाई नै मुखरित गर्दछ । महिला आन्दोलन रूपगत रूपमा लैङ्गिक जस्तो देखिए पनि मूलतः यो वर्गीय आन्दोलन नै हो । यसलाई नितान्त लैङ्गिक आन्दोलन वा लैङ्गिक स्वरूपमा बुझी विश्वमा जस्तै नेपालमा पनि एनजीओ, आईएनजीओहरूले बह्मलुट गरिरहेका छन् । संसद्वादको तावेदारीद्वारा महिला मुक्ति असम्भव छ । महिला आन्दोलनलाई सशक्त रूपमा माथि उठाउन र यसलाई वर्ग सङ्घर्षसित जोड्न पनि यसको अन्तर्राष्ट्रिय आयामलाई पनि बजबुत बनाउन जरुरी हुन्छ । लेनिनले संयुक्त अन्तर्राष्ट्रिय महिला सम्मेलनको कुरा यसै उठाउनुभएको थिएन । पार्टीभित्र समाजवाद र पार्टीबाहिर जनवाद लागू गरिनुपर्दछ । यसर्थ महिला आन्दोलन लैङ्गिक मात्र नभएर सारतः वर्गीय हो । अन्त्यमा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा हार्दिक शुभकामनासहित रोजाको कवितांश –
हामीमा कुनै कुराको कमी छैन
श्रीमती, बाल–बच्चाबाहेक
चराजस्तै उन्मुक्त उड्ने
समय र स्वतन्त्रता !