एसिडमा कडाइ


Yukta

काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड)सहित घातक रसायनको विवरण माग गरेको छ।

उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्ने सम्बन्धमा अध्यादेश ल्याइएको हो। त्यससम्बन्धी नियमावली स्वीकृत भई कार्यान्वयनमा आइसकेको मन्त्रालयको सूचनामा उल्लेख छ।
‘अध्यादेशको दफा ९५०मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमति दिन सकिने भन्ने व्यवस्था रहेको छ’, सूचनामा लेखिएको छ।

मन्त्रालयको नीति योजना अनुगमन महाशाखाका सहसचिव नाराणप्रसाद भट्टराईले राजपत्रमा प्रकाशित नियमावलीलाई कार्यान्वयन गर्न यो सूचना जारी गरिएको बताए। ‘हामीले तेजाबलगायत घातक रासायनिक पदार्थको खुलेआम बिक्रीवितरण गर्न दिँदैनौं’, भट्टराईले भने, ‘तेजाबजन्य रसायनको दुरुपयोग रोक्न यो सूचना जारी गरिएको हो।’ उद्योगलाई चाहिने रसायनको अभाव हुन पनि नदिन र कानुनसम्मत खरिदबिक्री होस् भनेर बनेको कानुन कार्यान्वयन गर्न सूचना प्रकाशित गरिएको उनले बताए।

अहिले उद्योगहरूलाई चाहिने रासायनिक पदार्थ ल्याउन कति चाहिन्छ भनेर विवरण संकलन गरिनेछ। ‘रासायनिक पदार्थ हाम्रो देशमा उत्पादन हुँदैन। बाहिरबाट आयात गर्न गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ’, उनले भने, ‘अहिले उद्योगीलाई प्रक्रियामा लगेका छौं। त्यसपछि व्यापारीका लागि पनि सूचना जारी गर्छौं। अहिले आयातका विषयमा मात्रै केन्द्रित हुन खोजिएको हो।’ साना उद्योगले पछि जिल्ला प्रशासन कार्यालयबाट नै निवेदन दिन सक्नेछन्।

यसअघि सहज रूपमै एसिडलगायत पदार्थको खरिदबिक्री हुने गथ्र्यो। काठमाडौंको शंखरापुर–१ नाङ्लेभारेस्थित नवीनग्राम शिक्षा मन्दिरमा केही दिनअघि फागु खेल्न पानी खोज्ने क्रममा केही युवाले एसिड फेला पारेका थिए। एसिडलाई नै पानी सम्झिएर रङमा मिसाएर दल्ने क्रममा उक्त विद्यालयका तीन विद्यार्थी घाइते भएका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा अजबी पौड्यालले खबर लेखेकी छन् ।