थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै


Yukta

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

आज बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडि फर्कने विकल्प नरहेको बताए।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरूको सेवा सुविधामा हेलचक्र्याइँ नगर्न सचेत गराए । स्वास्थ्य बीमाका विमितहरूलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए । उनले भने, ‘अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैंले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरू आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।’

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागू भएको छ ।

यो कार्यक्रममा सहभागी भएका विमितहरूले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जना सम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउँछन् ।

आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।