भ्वाइस सेवाको आम्दानी इन्टरनेटको भन्दा तेब्बर


Yukta

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले आर्थिक वर्ष ०७६/७७ मा इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी गरेको छ । कम्पनीले इन्टरनेट सेवाबाट ८ अर्ब २१ करोड आम्दानी गरेकोमा भ्वाइस सेवाबाट भने २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले डेटा सेवालाई आफ्नो आयको मुख्य स्रोत बनाउने भने पनि अझ केही वर्ष भ्वाइस सेवाले ‘लिड’ गर्ने देखिएको आजकाे कारोबार दैनिकमा खबर छ ।
कम्पनीको आव ०७६-७७ को वार्षिक प्रतिवेदन अनुसार कुल ४२ अर्ब ९९ करोड आम्दानी गरेकोमा ९ अर्ब ७५ करोड नाफा गरेको थियो । भ्वाइस सेवातर्फ २ करोड ग्राहक छन, जसमध्ये मोबाइल सेवाका ग्राहक १ करोड ९३ लाख हुन् । यो समग्र दूरसञ्चार बजारको ५२.६९ प्रतिशत बजार हिस्सा हो । कम्पनीका इन्टरनेट सेवाका ग्राहक डेढ करोड नाघेका छन् । इन्टरनेट सेवातर्फ कम्पनीको बजारहिस्सा ४८.६८ प्रतिशत हो । गत वर्षमा इन्टरनेट सेवाको ग्राहक वृद्धि ९.९३ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी ६४.९९ रुपैयाँ गर्न सकेको कम्पनीले गत वर्ष प्रतिसेयर ४० का दरले नगद लाभांश दिएको छ । पछिल्ला आधा दशकमा कम्पनीले सेयरधनीलाई दिने लाभांश दर भने निरन्तर घट्दै गएको छ । प्रतिवेदन अनुसार सरकारी राजस्वमा गत वर्ष कम्पनीले ३५ अर्ब ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।