दक्षिण कोरियामा प्रवासीको संख्या पाँच वर्षयताकै कम


Yukta

सउल । दक्षिण कोरियामा विदेशी जनसंख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मंगलबार प्रकाशित एक सरकारी तथ्यांकानुसार पछिल्लो पाँच वर्षयता पहिलोपटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको संख्या कम भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको संख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो । उक्त संख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको स्ंख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो ।

त्यसैगरी, सन् २०१९ को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्यांकले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको संख्या १०.६ प्रतिशत छ । त्यसैगरी, थाइल्यान्ड र अमेरिकी नागरिकको संख्या क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना महामारीका कारण कोरियामा रोजगारीमा कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो संख्या घट्नुमा कोरोना महामारीअघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ । रासस