क्यानद्वारा क्रिकेटका सबै प्रतियोगिता र सिरिज रद्द


नेपाल कुरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटका सबै कार्यक्रम अनिश्चितकालका लागि रद्द गरेको छ। कोरोना संक्रमणको दोस्रो लहरले भयावह परिस्थिति सिर्जना भएको भन्दै क्यानले जिल्ला तथा प्रादेशिक छनोटजस्ता राष्ट्रिय र विभिन्न देशसँग हुने भनिएका द्विपक्षीय र त्रिपक्षीय सिरिज स्थगित गरेको हो।

क्यान सचिव अशोक नाथ प्याकुर्‍यालद्वारा आज जारी विज्ञप्तिमा ‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता र सिरिज तत्कालका लागि स्थगित गरिएको छ’ उल्लेख गरिएको छ ।

क्यानले जिल्ला तथा प्रादेशिक संघहरुलाई क्रिकेटका सबै गतिविधि संघबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्न निर्देशन समेत दिएको छ।