क्यासमिरो र मिलिसाओको गोलमा रियलको जित


Hina Suwal

काठमाडौं । दुई ब्राजिलियन खेलाडी डिफेन्डर इडर मिलिसाओ र सेन्ट्रल मिडफिल्डर क्यासमिरोको गोल मद्दतमा उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि २–० को जित दर्ता गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिदा मिलिसाओ र क्यासमिरोले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै रियललाई जित दिलाउँदै उपाधि होडलाई जीवितै राखेको हो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलले बल पोसेसनमा पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

२५औं मिनेटमा मार्सेलोको क्रसमा इडेन हाजार्डको प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाए । लगत्तै त्यसमै प्राप्त कर्नरमा इडर मिलिसाओको फ्लिक हेडरलाई हेरेराले पञ्च गर्दै बचाउँदा रियल अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा एसेन्सियोको फ्रिकिकमा मिलिसाओको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले इस्कोको कर्नरलाई सदुपयोग गरेका थिए । त्यसको चार मिनेटपछि ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए । उनले करिम बेन्जेमाको पासलाई सदुपयोग गरेका थिए । रियलले ओसासुनाविरुद्ध मिडफिल्डरद्धय टोनी क्रुस र लुका मोड्रिचलाई विश्राम दिएका थिए ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको ३४ खेलबाट ७४ अंक पुगेको छ । रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । एट्लेटिकोको समान खेलबाट ७६ अंक छ । पराजित ओसासुना ४० अंक जोडेर ११औं स्थानमा छ । एजेन्सी