निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानीका लागि अनलाइनबाटै यसरी लिन सकिन्छ पास


Yukta

काठमाडौं । देशमा जारी निषेधाज्ञाको समयमा समेत अत्यावश्यक सामग्री ढुवानीका लागि अनलाइनबाटै पास उपलब्ध गराइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट पास उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

जसअनुसार दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति कार्यमा संलग्न कम्पनी, उद्योग र संस्थाहरुले उक्त कार्यका लागि प्रयोग हुने सवारी साधनको नम्बर, किसिमसहित संलग्न कामदार कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रमार्फत प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता तथा आवद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

त्यस्तो पत्रको एक–एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुका साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्नेगरी अगाडि ‘खाद्यान्न र फलफूलरतरकारी र दुग्ध पदार्थ ढुवानी सेवा’ भनिएको ब्यानर राख्नुपर्नेछ ।

यस्ता सवारी साधनमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्तिलाई भने राख्न पाइनेछैन । विभिन्न जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयको वेबसाइट खोले पछि दायाँ कुनामा रहेको प्रमुख जिल्ला अधिकारीको नाममा थिचेपछि प्रमुख जिल्ला अधिकारीको नाम सहित ईमेल आईडी देखिन्छ । उक्त ईमेलमा आफ्नो आधिकारिक पत्र पठाएर प्रमुख जिल्ला अधिकारीलाई पासको लागि जानकारी गराउन सकिन्छ ।