यस्तो अवस्थामा कोही बेइमान नहोऔँ ! सबै एकसाथ लडौँ, बचौँ र बचाऔँ


Yukta

काठमाडौँ । हाम्रो देश नेपाल गरिब छ र हामी सबै त्यस गरिब देशका नागरिक हौं । यस्तो गरिब देशमा पनि समयसापेक्ष चरम राजनीतिक परिक्षण भएको देख्दा एकदमै दुःख लागेर आउने गर्छ । अहिले सबैलाई सर्वविदितै भएको कुरा हो कि कोरोना भाइरसको महामारीले नेपाललगायत दक्षिण एसिया, एसिया, युरोपेली क्षेत्रका साथै विश्वका कयौं मुलुक नराम्ररी पिप्सिएका छन् । कोभिड-१९ को लहरसँगै विश्वले भोगेको चरम राजनीतिक, सामाजिक र व्यापारिक संकटको त कुनै लेखैजोखै छैन ।

ध्वस्त भएका जीवनशैली फेरी पहिलाजस्तो तंग्रिन बर्षौ समय लाग्ने विज्ञहरु बताउने गर्दछन् । कोभिड–१९ भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण आम जनजीवन सहज र सामान्य बन्न सकिरहेको छैन । यस्तैमा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न खोप विकास भएको छ । शक्तिशालीले राष्ट्रहरुले कोरोनाको असरलाई रोक्नको निम्ति दिनरात एक गरेर खोप निर्माण कार्य गरिरहेका छन् । र विभिन्न मुलुकमा आवश्यकता अनुसार बाँडिरहेका पनि देखिन्छन् ।

यस्तैमा विश्वभरी कोभिडको महामारी फैलिएको बेला हाम्रो देशको सरकारले जनतालाई खोप वितरण गर्ला जस्तो हामीलाई पटक्कै विश्वस लागेको थिएन । तर पनि सरकारले प्राथमिकताको आधारमा सबैजनालाई पालैपालो गरी खोप प्रदान गरेको थियो । सरकारको उदार भावना र कार्य देखेर सरकार साँच्चै जन स्वास्थ्यमा निकै सम्वेदनशील रहेछ भन्ने लागेको थियो ।

शुरुमा सरकारले आफ्नो जीवन जोखिममा राखेर कोरेना रोकथाम गर्न लागि परेको फ्रन्ट लाइनरहरुलाई पहिलो भ्याक्सिन प्रदान गर्यो । त्यसपछि प्रथमिकताको आधरमा विभिन्न उमेर समूहकालाई पनि शुरुमा भारतले अनुदानको रुपमा प्रदान गरेको खोप दिने काम शुरु गर्यो । त्यसको लगत्तै चाईनिज खोप पनि नेपालमा भित्रियो र त्यसलाई पनि लगाउने काम शुरु भयो । खोप लगाएपछि सबैले आफुलाई सुरक्षित भएको महसुस गरे । कतिपय देशहरुमा भ्याक्सिन नपाएको बखत हाम्रो देशको सरकारले भ्याक्नि भित्र्याए भन्ने कुरामा सबैले गर्व समेत महसुस गरे।

सरकारी तवरबाट निकै प्रशंसनिय काम भएको देखर सबैलाई खुशी लागेको थियो । त्यसमाथि संसद भवनबाटै प्रधानमन्त्रीले गौरवकासाथ दक्षिण एसियामा नेपाल खोप शुरु गर्ने दोश्रो मुलुक हो भन्दा झन् गौरवान्वित महसुस गरेको थिएँ । तर बुझ्दै जाँदा नेपाल भित्रिएको पहिलो भारतीय खोप काठमाडौं उपत्यका बाहेकका अरु जिल्लाहरुमा नलगाएको रहेछ भन्ने कुरा सुन्नमा आइयो । सुने लगतै दोस्रो खोप नेपालमा नभित्रिनुको कारण लेनदेन नमिलेको कारण पो रहेछ भन्ने कुरा पनि ज्ञात भयो ।

यसमा स्वास्थ्यमन्त्रीले समेत भ्याक्सिनको अनियमितताको वारेमा सर्वजनिक रुपमा खुलेरै बताए । त्यसलगत्तै सरकारको निकै आलोचना भयो । उमेरको आधारमा दोश्रो खोप लगाइसक्नुपर्नेमा भारतीय खोप नआएको देख्दा सबैको मनमा निराशा छाउन थालेको छ । त्यसो त दोस्रो चरणमा अर्थात फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाएकाहरुको जेठ ११ गतेभित्र दोस्रो चरणको खोप सुरु गरिसक्नुपर्ने थियो । तर त्यसो भएन ।
शायद भारतमा महामारी निकै बढेकोले भारतले खोप निर्यात गर्न नसकेको हो कि भन्ने जनमानसमा आशंका पनि थियो । तर यसको पर्दाफास बाहिर तब आयो जब पहुँचवालाले मात्र दोश्रो खोप भित्रभित्रै लगएको कुरा वहिर निस्कन थाल्यो । यस्तैमा एक सांसदकी छोरीले त टिकटक भिडियोमार्फत यसको खुलासा समेत गर्न भ्याइन् । यस्तो किसिमको क्रियाकलापले अन्योलमा परेका सोझा, निमुखा जनताहरुलाई झन् देशमा सरकार गरिबहरुका लागि मरिसकेको प्रत्याभूति गराइरहेको छ ।

निकै सशंकित बनिरहेका जनताहरुले सरकारी पदाधिकारीका नजिकका मान्छेहरु, नातागोटाहरु, ठूलावडा तथा तिनीहरुका नजिकका मान्छेहरुले मात्र जिवन रक्षा गर्न सक्ने सक्षम हुने रहेछन् भन्ने खालको भान गरिरहेका छन् । यस्तोमा निराशाजनक बनिरहेका जनताको आकांक्षलाई छिट्टै सरकारले समाधान गर्न सकेन भने देशले ठूलै मुल्य चुकाउनु पर्ने देखिन्छ । दोश्रो भ्याक्सिनको कालोबजारी तथा अननियमितता भएको देखेर सबै जनताहरु एक किसिमले निकै दिक्क भइसकेका छन् ।

यस्तैमा सरोकारवालाहरुले जनताको आवाजलाई सुने पनि नसुनेझैँ गरिरहेका देखिन्छन् । सरकार न कोरोना भाइरसविरुद्ध लडिरहेको देखिन्छ न जनतालाई आश्वासन दिइरहेको देखिन्छ । देखिन्छ त सिर्फ आफने कुर्सी बचाउन जोडघटाउको ताण्डव नृत्य मच्चाइरहेको मात्र देखिन्छ । यस्तो विषम परिस्थिमा पनि सबै सत्तामोहमा लिप्त भएका राजनीतिज्ञहरु देख्दा तीनीहरु देशका दुश्मन भएको भान हुन्छ ।
-वविन