दोस्रो एकदिवसीयमा आयरल्यान्ड विजयी


काठमाडौं । नेदरल्यान्ड विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड विजयी भएको छ । नेदरल्यान्डमा जारी ३ खेलको श्रृङ्खला अन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको हो ।

आइसिसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेदरल्यान्डले दिएको १५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै पाउल स्ट्रर्लिङले ५२ रनको अर्धशतकीय इनिङ्ग खेल्दा ह्यारी टेक्टरले अविजित ३० रन जोडे ।

नेदरल्यान्डका पिटर सिलार र लोगन भान विकले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

नेदरल्यान्डका लागि म्याक्स ओडोडले ३६ रन बनाए । बास डी लिड र स्कट इडवार्डले समान २३/२३ रन बनाए । भान विकले अविजित २२ रन बनाए । आयरल्यान्डका क्रेग योङ र जोस लिटलले ४/४ विकेट लिए ।

जितसँगै आयरल्यान्डले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा नेदरल्यान्डले आयरल्यान्डलाई १ रनले हराएको थियो ।

दुई टिमबीच तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । एजेन्सी