खुलस्त बताउनुहोस् सरकार ! भारतीय दोस्रो खोप जनताले कहिलेसम्म पाउँछ ?


Yukta

काठमाडौँ । नेपालमा अहिले कोभिसिल्डको पहिलो मात्रा लगाएका १३ लाख ६४ हजारभन्दा बढी मानिसहरु दोस्रो खोपको प्रतिक्षामा छन् । तर, कोभिसिल्ड खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप नदिने निर्णय गरेसँगै दोस्रो डोज कहिलेबाट सुरु हुने भन्नेमा सर्बसाधारणमा अन्योलता छाएको छ ।
भारतले उत्पादन गरेको खोप अन्य देशले बुकिङ गरिसकेका छन् । नेपालले भने ट्रायलमा भएकाले बुकिङ गरेको छैन । यसले गर्दा खोप ढिलो हुन सक्छ । खोप ल्याउन स्वास्थ्य मन्त्रालयले सिरम इन्स्टिच्युटसँग छलफल गरिरहेको छ । तर कहिले आउने हो ठेगान भने छैन ।
भारतीय कम्पनीले नेपाललाई प्राथमिकतामा राखेको बताए पनि स्पष्ट रुपमा खोप उपलब्ध गराउने भनेको छैन । त्यसैले पहिलो खोप नसँकिदै दोस्रो आउनेमा मन्त्रालयका अधिकारीहरु शंका व्यक्त गरिरहेका छन् । अग्रिम बुकिङ नगरेकाले खोप नै पाइन्छ कि पाइँदैन भन्नेमा विज्ञको चिन्ता छ । यस्तैमा ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउन कम्तीमा पनि दुई वर्ष लाग्ने अनुमान जानकारहरु गर्छन् ।

नेपालमा १८ वर्षमाथिका ७२ प्रतिशत नागरिकलाई खोप लगाउँदा ४८ अर्ब ८३ करोड ४२ लाख खर्च लाग्ने सरकारी अनुमान छ ।
कोभिसिल्ड लगाएको ८ देखि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनुपर्छ । त्यसो त दोस्रो चरणमा अर्थात फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाएकाहरुको जेठ ११ गतेभित्र दोस्रो चरणको खोप सुरु गरिसक्नुपर्ने थियो । तर त्यसो भएन ।
यस्तैमा सरकारले सिरमसँग २० लाख डोज किन्नका लागि खरिद सम्झौता गरेकोमध्ये १० लाख डोजमात्र नेपाल आएको छ । अझै १० लाख खोप आउन बाँकी नै छ । तर, त्यो जेठ ११ गते भित्र पनि आएन । यसैगरी कोभ्याक्सले दिने भनिएको १ करोड ३० लाख डोज खोप पनि तत्काल आउने सम्भावना छैन । त्यसैले तोकिएकै मितिमा दोस्रो मात्रा कुरिरहेकाहरुलाई खोप लगाउन असम्भव छ ।
यसरी दोस्रो मात्रा समयमै नलगाउँदा जोखिम हुन्छ कि हुँदैन ? कोभिसिल्डको पहिलो डोज लगाइसकेका मानिसहरुको प्रश्न यहि छ । यद्यपि यसका बारेमा अहिलेसम्म कुनै वैज्ञानिक आधार बाहिर आएको छैन ।
पहिलो प्राथमिकतामा लगाएकाहरुलाई दोस्रो डोज बैसाख ७ देखि ११ गतेसम्म दिने भनिएको थियो । उनीहरुका लागि करिब ७ लाख कोभिसिल्ड खोप मौज्दात छ । तर दोस्रो प्राथमिकतामा लगाएकाहरुका लागि दोस्रो डोजको खोप छैन । उनीहरुलाई चीनले दिएको खोप लगाउन मिल्दैन । पहिलो डोज जुन खोप लगाएको हो, दोस्रो डोज पनि त्यहि नै लगाउनुपर्छ । हुन त पहिलो डोजले काम नै नगर्ने होइन । तर प्रभावकारिताका लागि दुवै डोज लगाउनुपर्छ । ८ देखि १२ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्छ । त्यस्तै पहिलो डोज कहिले पाउँछन् भन्न सकिने अवस्था छैन । यसको सम्पूर्ण जिम्मेवारी सरकारी पक्षले लिन आवश्यक छ । यस्तैमा भारतीय दोस्रो खोप अब नेपाल कहिले आउँछ होला सरकार ?

– रुपक शाक्य