पर्यटन क्षेत्रका मजदुर भन्छन्– अब खेतीपाती गरौं


पोखरा । सनकुमार जुग्जाली र्‍याफ्टिङ गाइड हुन् । पर्यटनमा उनको संलग्नता झन्डै दुई दशकदेखि छ । लामो समयको र्‍याफ्टिङ अनुभव भए पनि पछिल्लो समय उनी पदयात्रा क्षेत्रमा पनि सक्रिय थिए । म्याग्दीको मालिका गाउँपालिका घर भएका उनी परिवारसहित पोखरामा डेरा बस्दै आएका छन् । उनकी श्रीमती पनि पदयात्रा गाइड हुन् । कोरोना कहर सुरु हुनुअघि जुग्जालीका पतिपत्नी नै पर्यटन क्षेत्रमा सक्रिय थिए । दुवैजनाको मेहनतले कमाइ पनि राम्रै थियो । तर कोरोनाका कारण एक वर्षदेखि उनको परिवार पूरै बेरोजगार बनेको छ । ‘अब कहिले काम पाइन्छ भन्ने टुंगो छैन,’ जुग्जालीले भने, ‘यस्तै अवस्था रहिरह्यो भने अबका २–३ महिनापछि घर फर्किनुको विकल्प छैन ।’ जुग्जालीका अनुसार दुवैजना पर्यटन क्षेत्रमा लागेकोले पहिलेको केही आम्दानी बचत थियो। त्यही बचत रकमले अहिले घरखर्च धानेको उनले बताए ।

‘बूढाबूढी नै काममा रहेकोले केही बचत थियो । त्यो बचतले एक वर्षभन्दा बढी धानिसक्यो । अब धान्ने अवस्था छैन,’ उनले भने, ‘तत्काल काम पाउने अवस्था रहेन। अझै २–३ महिना पर्खिन्छौं, त्यो बेलासम्म पनि कामको टुंगो लागेन भने घर फर्किनुको विकल्प हुँदैन ।’ एक वर्षदेखि घरमै बस्नुपर्दाको छटपटी भनिसाध्य नहुने उनले बताए ।

शालिकराम तिमिल्सेना ट्रेकिङ गाइड हुन् । तिमिल्सेनाको घर पोखराकै सराङकोटमा पर्छ । पोखराको मुख्य बजारबाट उनको घर झण्डै १० किलोमिटर टाढा छ । बजारमा डेरा भए पनि तिमिल्सेनाको बसाइ प्रायः गाउँकै घरमा हुन्थ्यो, डेरामा कहिलेकहीँ मात्रै । कोरोनाको कहर सुरु भएपछि तिमिल्सेना पूर्ण रुपमा सराङकोटको पुख्र्यौली घरमै बसिरहेका छन् । उनी ६ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय थिए। ‘पर्यटनमा लागेका कारण घरको खेतबारीले स्याहारसुसार पाएको थिएन ।

फेवाफाँटको खेत पनि अधियाँ दिइन्थ्यो। बारी बाँझो थियो,’ उनले भने, ‘अब खेत आफैं रोप्ने हो, बाँझो बारीमा मर्कै रोप्ने हो ।’ पर्यटनमा अझै केही वर्ष अनिश्चित भएकोले पनि अहिले नै कृषिकर्ममा फर्किएको उनले बताए । ‘म पर्यटनमा हुँदा घरको काम हुन सकेको थिएन । आफूलाई भने पदयात्रामै लत बसेकाले खेतबारीले स्याहारसुसार पाएको थिएन। खेतबारी नै बाँझिने अवस्था आएको थियो,’ उनले भने ।

तिमिल्सेनाले घर फर्केर खेतबारी मात्र स्याहारेका छैनन्, बाख्रापालन पनि थालेका छन् । यसअघि घरमा भैंसी मात्र थियो, अहिले बाख्रा पनि पाल्न थालेको उनले बताए । ‘पोहोरसम्म भैंसी मात्र थियो । अहिले त खोरमा सातवटा बाख्रा छन। अब खेतीपाती सँगै पशुपालन पनि सुरु नगरी सुखै छैन,’ उनले भने, ‘पर्यटन क्षेत्र अनिश्चयको भूमरीमा परेको छ । नेपाल खुलेर मात्र हामीले काम पाउँदैनौं, जबसम्म विदेशी पाहुना आउन थाल्दैनन्, हाम्रो काम छैन ।’ उनका अनुसार अहिले पर्यटन क्षेत्रमा कार्यरत धेरै मजदुर बेरोजगार भएपछि घर फर्केका छन् । अधिकांशले पेसा परिर्वतन गरेका छन। खेतीपाती र पशुपालनमा अधिकांश भुलेका छन् । अहिले पेसा परिर्वतन गरेका ती मजदुरलाई अब पर्यटनमा फर्काउन पनि सहज नहुने उनले बताए ।

पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्यौली घर फर्केर खेतीपाती सम्हालेको बताउँछन् । धेरैजसो बजारबाट बाहिरिएको उनले बताए । ‘पर्यटनमा कार्यरत धेरै मजदुरले पोखराको डेराडण्डा छाडिसके। केहीले पहिल्यैदेखि सानोतिनो व्यापार गरेको हुँदा उनीहरू जसोतसो अडिएका छन्,’ केसीले भने, ‘तर बजारमा व्यवसाय गरे पनि उनीहरूको बसाइ सकसपूर्ण छ ।’

पर्यटन क्षेत्रबाट बाहिरिएका ती मजदुरमध्ये केही निर्माणको काममा संलग्न छन्। कोरोनाले एक वर्षदेखि मजदुरलाई बेरोजगार बनाए पनि होटल र रेस्टुरेन्टमा कार्यरत थोरैमात्र कामदार बीचमा काममा फर्केका थिए । काममा पर्केका उनीहरू पनि लामो समय टिक्ने अवस्था नहुँदा अहिले घर फर्किनुको विकल्प नभएको उनले सुनाए । ‘होटल, रेस्टुरेन्ट खुले पनि सानो संख्यामा मात्र कामदार काममा फर्केका थिए । तर अहिले उनीहरू पनि बिस्थापित भइसकेका छन्,’ उनले भने ।

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाका अनुसार गण्डकीको पर्यटन क्षेत्रमा कार्यरत कामदारको संख्या ७५ हजार हाराहारी छ । तीमध्ये सबैभन्दा बढी होटल र रेस्टुरेन्टमा कार्यरत थिए । त्यसपछि पदयात्रा र यातायात क्षेत्रमा काम गर्ने अधिक छन् । होटलमा धेरै संख्यामा पूर्णकालीन कामदार कार्यरत छन् ।

पदयात्रा, र्‍याफ्टिङ, ट्राभल लगायत क्षेत्रमा भने पूर्णकालीन कम थिए । ‘एक वर्षभन्दा बढी समय भयो बेरोजगार बनेको, अब पर्यटनमा फर्किहाल्ने माहोल छैन,’ सापकोटाले भने, ‘होटल तथा रेस्टुरेन्टमा काम गर्ने उच्चतहका कर्मचारी त केही बजारमै छन् । तर तल्लो तहमा कार्यरत भने विस्थापित भइसके ।’ विस्थापित मजदुर कृषि सहित घरायसी काममा व्यस्त भएको उनले बताए ।

बीचमा होटल र रेस्टुरेन्ट खुल्दा केही मजदुरले आंशिक काम पाए पनि अहिले उनीहरू पनि रोकिएको सापकोटाको भनाइ छ । ‘कतिपय विदेश जान पाए हुन्थ्यो भन्ने अवस्थामा छन् । ठूला संस्थामा कार्यरत उच्च तहका कामदार पर्ख र हेरको अवस्थामा छन् । रेस्टुरेन्ट, पदयात्रा, सवारी लगायतमा कार्यरत सहयोगी अहिले घरमै छन्,’ सापकोटाले भने, ‘तल्लो वर्गको मजदुर पूरै विस्थापित भए। अधिकांश घर फर्के भने उनीहरूले पेसा पनि परिवर्तन गरे ।’

कोरोना कहर कम हुँदा बीचमा झण्डै २५ प्रतिशत कामदार काममा फर्के पनि अब अनिश्चित भएपछि उनीहरू पनि बेरोजगार बनेको उनले बताए । ‘विस्थापित कामदारलाई विकास निर्माणमा लगाउने, भत्ता दिएर भए पनि तालिम दिलाउने, पर्यटकीय सम्पदा, पदयात्रा रुट संरक्षण र मर्मतसम्भारमा खटाउने हो भने मजदुरलाई बचाउन सकिन्छ,’ उनले भने, ‘मजदुरलाई होल्ड गर्न राज्यले नीति बनाउनुपर्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।