भागबण्डा नमिलेपछि माओवादी केन्द्र सरकारमा सहभागी भएन


जनकपुरधाम । जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।

प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी भएको प्रदेशसभा सदस्य जगत यादवले जानकारी दिए ।

माओवादी केन्द्रबाट वार्ताका कार्यदलमा सदस्य रहेका प्रदेशसभा सदस्य यादवले दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णए दिएका हौं ।

‘मुख्यमन्त्री लालबाबु राउतले दुईवटा मन्त्रालय दिने सहमति गरेको थियो, तर अहिले कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र दिने भनेपछि सरकारमा जानु औचित्य नहुँदा बाहिरिएका हौं’, उनले भने ।

सुरुमा उद्योग तथा पर्यटन र महिला तथा खेलकुद मन्त्रालय दिने अनौपचारिक निर्णय भएको थियो । केही समयमै दुई मन्त्रालय दिन नसक्ने बाताएपछि माओवादी केन्द्र सरकारमा सहभागी नभएको हो ।

‘सुरुमा दुई मन्त्रालय दिने कुरा थियो। पछि दुई मन्त्रालय दिन सक्दैनौं, तपाईहरु कानुन तथा प्रदेशसभा मन्त्रालय अहिलेलाई लिनुस् र एक डेढ महिनापछि मन्त्रालय मिलाउँला भनेपछि हामीले लिखित सहमति खोज्यौँ’, उनले भने, ‘तर वहाँहरु अनौपचारि रुपमै सहमतिको प्रस्ताव गरेपछि हामी बैठकबाट बाहिरियौं ।’

जसपा र लालबाबु राउत नेतृत्वको सरकारले सहमति एउटा र कुरा अर्को अपमानजनक व्यवहार भएकाले सरकारमा जानुको औचित्य नरहेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा गोविन्द महतोले लेखेका छन् ।