सुदूरपश्चिममा नेपाल पक्षका १७ प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण माग


नेपाल कुरा

काठमाडौं । नेकपा एमाले सदूरपश्चिम प्रदेश कमिटी (ओली पक्ष)ले पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन पक्षको पक्षमा मतादन गर्ने नेपाल पक्षीय १७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण मागिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए।उनका अनुसार स्पष्टीकरणको बोधार्थ एमाले केन्द्रीय कार्यालयमा समेत दिइएको छ ।

उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ । यस अघि संसदीय दलका नेता प्रकाश बहादुर शाहले संसदीय दलको निर्देशन विपरित मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्ने ओली समूहका ७ सांसदलाई पनि स्पष्टीकरण सोधेका थिए।

समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही हुनेसमेत उनले चेतावनी दिएका छन्। मुख्यमन्त्री भट्ट माओवादीका हुन् । नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलले ओलीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

नेपाल समूहका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएर माओवादी केन्द्रको सरकार जोगाएका थिए।