जोखिममा परेकाको हितका लागि साझा प्रयत्न जरुरी : मन्त्री चौधरी


Cosmic

काठमाडौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्ति कोरोनाका कारण थप जोखिममा परेकाले उनीहरूको हितका लागि सरकार, सरोकार भएका सबै निकायका साझा प्रयत्न जरुरी रहेको बताएकी छन् ।

उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवम् बालबालिका पर्न थालेको उल्लेख गरिन् । मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलालाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुँजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गरिन् । “महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय शुरु गर्नपुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचकालागि सहयोग आवश्यक छ”, उनले भनिन् ।

नेपाल उद्योग परिसङ्घअन्तर्गतको सिएनआई सिइओ फोरमले आज आयोजना गरेको श्रव्यदृश्य छलफलमा उनले विपद्मा पनि समस्यामा पर्ने भनेकै महिला बालबालिका तथा जेष्ठ नागरिक भएकाले उनीहरूको हितका लागि साझा प्रयास जरुरी रहेको बताइन् । विभेद हटाउनेसम्बन्धी राष्ट्रसङ्घीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिला नै रहेको भन्दै मन्त्री चौधरीले अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको तथ्य पेश गरिन् ।

युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । उनले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याइन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको सङ्कटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताइन्। अहिलेको सङ्कटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

परिसङ्घका उपाध्यक्ष एवम् सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीले यतिबेला सबैले ठूलो सङ्कटविरुद्ध सङ्घर्ष गरिरहेको बताइन् । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उनले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताइन् । – रासस