किन यसरी अचाक्ली बढ्दैछ खाने तेलको मूल्य ?


Yukta

काठमाडौं । नेपाली बजारमा खाने तेलको मूल्य अचाक्ली बढ्दै गइरहेकोमा भने आज (सोमबार) थोरै लगाम लागेको छ । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । कोरोना महामारी शुरु भएयता खाने तेलको मूल्य बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले पनि खाने तेलको मूल्य बढ्दै गइरहेको जनाइएको छ ।

सुरूमा लिटरमा पाँच/दस रूपैयाँ बढेको खानेतेलको बजार मूल्य कोरोना महमामारीअघि प्रतिलिटर २ सय रुपैयासम्म रहेको थियो । तर दुई महिनाअघिदेखि तेलको मूल्य लगातार बढ्दै गइरहेको छ । केहीदिन अघिमात्रे बजारमा तेलको मूल्य बढेर लिटरको ३ सय रुपैयाँसम्म पुगेको थियो ।
सूर्यमूखी तेलको मूल्य प्रतिलिटर ३ सय रुपैयासम्म पुगेको थियो भने भटमासको तेल प्रतिलिटर २३५ रुपैयासम्म पुगेको थियो । यस्तै तोरीको तेलको मूल्य भने निकै उच्च थियो । तोरीको तेलको मूल्य ३३० रुपैयाँसम्म पुगेको थियो ।
तर निरन्तर बढ्दै गइरहेको तेलको भाउमा भने आज केही परिवर्तन देखिएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा आज भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ भने सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ ।

यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको हो ।
बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
यसअघि अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो ।
विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ्घले उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको थियो । सङ्घले एक विज्ञप्ती जारी गर्दै व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको जनाएको थियो ।
‘सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ’, सङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विज्ञप्तीमा भनिएको छ, १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’
सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको सङ्घले दाबी गरेको छ ।
मार्च २०२० मा ६१४ यूएस डलर एफओबी अर्जेन्टिना सोयाविनको तेल, ६५६ यूएस डलर एफओबी युक्रेनी सनफ्लावरको तेलको मुल्य विगत १ बर्षमा असामान्य वृद्धि भई १२७९ यूएस डलर एफओबी अर्जेन्टिना सोयाविनको तेल र १५८० यूएस डलर एफओबी युक्रेनी सनफ्लावरको तेलको मुल्य पुगेकोे पुष्टाई युरोपवाट प्रकाशित हुने ओएल वर्ल्डको २३ अप्रिल २०२१ को डकुमेन्टले समेत प्रष्ट पार्दछ ।