सवारीसाधन भारतमा सस्तो, नेपालमा चाँहि किन महँगो ? यस्ता छन् कारण !


Yukta

काठमाडौँ । सवारी साधन दुईपांग्रे चारपांग्रे अधिकांस मानिसहरुको लागि दैनिक आवश्यकताको साधन बनिसकेको छ । दैनिक काममा जानु होस् वा किनमेल गर्न, घुमफिर गर्नुहोस् वा भेटघाट गर्न, बच्चालाइ स्कुल लैजान होस् वा सामान किनबेच आदि कार्य गर्न निम्ति मोटरसाइकल तथा कारले मानिसहरुको जीवनलाइ निकै सहज तुल्याईदिएको छ ।

साथै यसले मानिसहरुको समय र पैसा बचत गर्न सहयोग पुर्याउने हुनाले पनि यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । यस्तैमा मोटरसाइकलको कुरा गर्नुपर्दा नेपालमा बजाज, यामाहा, टीभीएस, हिरो, होन्डा, सुजुकीलगायत ब्रान्डका मोटरसाइकल अधिक रुचाइएका छन् । नेपालमा बढी बिक्री हुने मोटरसाइकलको मूल्य भारतमा भन्दा निकै बढी छ । नेपालमा लाखभन्दा बढी पर्ने मोटरसाइकल भारतमा हजारमै पाइन्छ ।
यस्तैमा भारतमा पाइने बजाज १५० सिसिको पल्सर मोटरसाइकल नेपालमा किन्दा दुई लाख ६८ हजार नेपाली रुपैया पर्दछ भने भारतमा यसको मूल्य भारु एक लाख ७ हजारमै आउँछ । त्यस्तै बुलेट ब्रान्डका बाइकको मूल्य ४ लाख ३२ हजार रुपैयाँदेखि ७ लाख २१ हजार रुपैयाँसम्म पर्ने गरेको छ । भारतमा सोही कम्पनीका बाइकको मूल्य १ लाख २१ हजार भारुदेखि २ लाख ६५ हजार भारु छ । यस्तो कसरी भयो त ?

विश्व बैंकको तथ्यांक अनुसार भारतीयहरुको प्रतिव्यक्ति आय १५८१ अमेरिकन डलर छ भने नेपालीहरुको प्रति व्यक्ति आय ७०१ अमेरिकी डलर मात्र छ । तुलानात्मक रुपले हेर्ने हो भने भारतीयहरुको क्रय शक्ति नेपालीहरुको भन्दा दोब्बर बढी छ । तर दैनिक आवश्यकताको लागि एउटा मोटरसाइकल किन्नु परेमा हरेक नेपालीले भारतीय नागरिकहरुको तुलनामा दोब्बर बढी रकम तिर्नु पर्ने बाध्यता छ ।
सरकारले निजी सवारी साधनबाट ३०० प्रतिशतसम्म भन्सार असुल्ने गरेका कारण सवारीसाधान किन्न धेरैनै महँगो पर्छ । विलासीको सूचीमा राखिएको निजी सवारीमा वर्षेनी बजेटमार्फत करको भारसमेत थपिँदा मध्यम आय भएकाले किन्नै नसक्ने अवस्था रहेको छ ।
नेपाल भित्रिने सवारी साधनको क्षमताको आधारमा चारपांग्रेका लागि मूल्यको २२५ देखि ३०७ प्रतिशतसम्म र मोटरसाइकलका लागि १०६ देखि १९३ प्रतिशतसम्म भन्सार महसुल तोकिएको छ । सवारी साधनलाई विलासी सामग्रीमा राखेर सरकारले बजेटमार्फत कर बढाउने गरेको छ । नेपाल भित्रिइसकेपछि पनि उपभोक्ताले पूर्वाधार, सडक दस्तुर जस्ता वार्षिक कर तिरिरहनुपर्दा सवारी साधनमा अधिक खर्च हुन्छ ।

नेपालको तुलनामा भारतमा सवारी किन्दा तिर्नुपर्ने कर निकै कम छ । त्यहाँ ५ लाख भारुभन्दा बढीको चारपाङ्ग्रे सवारीलाई मूल्यको १३ प्रतिशत मात्र कर तिर्नुपर्छ । त्यस्तै २० लाख भारुभन्दा बढीलाई १८ प्रतिशत कर तिर्नुपर्छ । चार वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम आयु भएको सवारीले भने ७५ प्रतिशत कर तिर्नुपर्छ । १५ वर्षभन्दा बढी आयु भएका सवारी साधनले २५ प्रतिशत कर तिर्नुपर्छ ।
भारतमा कम्पनीका नाममा दर्ता हुने सवारी साधनको हकमा पेट्रोलबाट चल्ने ६ लाखसम्मको गाडीले ५ प्रतिशत र डिजेलबाट चल्नेले ६.२५ प्रतिशत कर तिर्नुपर्छ । ६ देखि १० लाखसम्म पर्ने पेट्रोल गाडीले ८.७५ प्रतिशत र डिजेलबाट चल्नेले १०.९४ प्रतिशत तथा १० लाखभन्दा बढीका पेट्रोल गाडीले १२.५ प्रतिशत र डिजेलबाट चल्नेले १५.६३ प्रतिशत कर तिर्नुपर्छ । दिल्लीमा एमसीडी पार्किङ शुल्क २ हजारदेखि ४ हजार भारु तिरे पुग्छ ।
त्यसोभए आखिर किन नेपालीहरु यतिका धेरै महँगो रकम तिर्न बाध्य छन् त ? जबाब स्पस्ट छ, किनकि मोटर साइकल र गाडीलाई अझैपनि नेपालमा बिलासिताको साधनको रुपमा हेरिने गरिएको छ । जसकारण राज्यले नागरिकहरुसंग ठुलो मात्रामा करको रकम असुल गर्दछ । जसकारण उसले नागरिकहरुसंग ठुलो मात्रामा करको रकम असुल गर्दछ ।
राज्यले नागरिकहरुबाट राजस्व उठाउनु कुनै नौलो कुरा होइन । राज्य संचालनको मुख्य आयस्रोतको माध्यम नै यहि भएकोले सबै राज्यले आफ्ना नागरिकहरुलाई कर तिर्न बाध्य बनाउछन् । राज्यले कर उठाउन आवश्यक भएपनि कति मात्रामा कर उठाउने भन्ने प्रश्न महत्वपूर्ण हुन जान्छ । आफ्नै नागरिकको घाटी निमोठेर राज्यको ढुकुटी भर्नु कतिको उचित हो ?

नागरिकहरुलाइ गरिब बनाएर कुनैपनि रास्ट्र राज्य समृद्ध हुन सक्दैन । कस्टम ड्युटी, स्थानीय कर, भ्याट, सडक दस्तुर, दर्ता, सवारी कर, आदि सबैगरी हाल नेपाल सरकारले मोटरसाइकलमा लगभग १२७ प्रतिशत कर वसुल गरिरहेको छ । जसकारण मोटरसाइकल नेपाली नागरिकहरुको लागि धेरै महँगो पर्न गएको अवस्था हो । जुनकुरा उचित छ वा छैन भनेर हामि सबै नागरिहरुले मनन गर्न जरुरी छ ।
साथै करको दरलाई न्युनतम गरि आमनागरिकहरुले सहज, सुलभ अनि सस्तोमा उनीहरुको आवस्यकताको साधन किन्न सक्ने बाताबरण तयार गरियोस् ।