प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक छ : मुख्यमन्त्री पौडेल


Yukta

उप-सम्पादक

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले रासससँग गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए। भेटमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले राससले समयानूसार आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।

उनले प्रविधिको अधिकतम प्रयोग हुने वर्तमान समयमा सोहीअनुसार चल्नसके उपलब्धि हासिल हुने बताए। प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पनि प्रदेश सरकार रासससंग सहकार्य गर्न इच्छुक रहेको बताए। जनतालाई सुसूचित गराउने कार्यमा सरकारले राससलाई सहयोग गर्ने उनले बताए ।

भेटमा महाप्रबन्धक राईले राससले आगामी दिनमा भिडियो सेवा सञ्चालन गर्न लागेको जानकारी दिए। उनले राससले उपलब्ध गराउँदै आएको सेवालाई द्रुत र अझ विश्वसनीय बनाइने उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न आतुर रहेको धारणा राखे ।

भेटघाट कार्यक्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवालले राससले सम्पादन गर्ने कार्यका बारेमा जानकारी गराएका थिए। भेटमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, राससका संवाददाता प्रकाश सिलवाललगायतको सहाभागिता थियो । रासस