नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्याे


Nepalkura

  • 12
    Shares

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपाललाई जीत दिलाउन प्लेयर अफ द म्याच घोषित कुशल भुर्तेलले सर्वाधिक ८४ रनका योगदान दिएका छन । ३ चौका र ३ छक्का हानेका उनले ओपनर आशिफ शेखसँग मिलेर नेपाललाई राम्रो शुरुवात दिलाएका थिए । शेखले २३ रन बनाउँदै अर्धशतकीय साझेदारी गरेका थिए भने रोहित पौडेलले नटआउट रहँदै ६२ रन बनाएर नेपाललाई लक्ष्यसम्म पुर्याए । उनलाई विनोद भण्डारीले ३७ रन बनाउँदै राम्रो साथ दिएका थिए।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेलेका थिए । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे । निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए । नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिएका हुन ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स युएई गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।