उत्तर प्रदेशमा डेङ्गुबाट सय बढीको मृत्यु, भाइरल ज्वरोका १२ हजार बिरामी


Nepalkura

  • 5
    Shares

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा डेङ्गु प्रकोपका कारण १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण कम्तीमा १२ हजार मानिसहरू थला परेका छन।

फिरोजावाद जिल्लाका प्रमुख स्वास्थ्य अधिकारी दिनेशकुमार प्रेमीले उनको जिल्लामा मात्र डेङ्गुको कारण अधिकांश बालबालिकासहित ५८ जनाको मृत्यु भएको बताएका छन् । समग्रमा भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या एक सय नाघेको र तीमध्ये ८८ जना बालबालिका रहेको बताइएको छ ।

अधिकांश बालबालिकाका गरिब अभिभावकहरूले स्वास्थ्य अवस्था खराब हुनअघि नक्कली स्वास्थ्यकर्मी वा ठगवैद्यमा लगेकाले उनीहरूको मृत्यु भएको हुन सक्ने एक स्वास्थ्य अधिकारीले बताएका छन ।

सरकारी अस्पतालमा उपचार गर्न शैया नपाएको र निजी अस्पतालमा महंगो भएका कारण आफ्नो बालबच्चाको उपचार गर्न नसकेको अभिभावकको गुनासो छ।

स्वास्थ्य अधिकारीहरूले डेङ्गु नियन्त्रणको लागि लामखुट्टे नाश गर्ने अभियान समेत सञ्चालन गरेका छन् ।