चन्दाले नै बन्यो २० लाखको मन्दिर


Nepalkura

  • 6
    Shares

काठमाडौँ – बाग्लुङ–९ तित्याङस्थित गाउँमा गाउँलेबाट चन्दा तथा श्रमदान जुटाएर रु २० लाखमा बालभैरव मन्दिर निर्माण गरिएको छ । जीर्ण मन्दिर भएकाले स्थानीयवासीले लाखौँ खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले बताउनुभयो ।

रु २० लाख रकममध्ये रु १५ लाख नगद सङ्कलन गरेका स्थानीयवासीले रु पाँच लाख बराबरको श्रमदान गरेका थिए । मन्दिरमा तामाको छानो बिछाइएको छ । आकर्षक कलात्मक बुट्टा भरेका टुँडालहरू बनेका छन् ।

विशेषगरी भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य समस्या पर्दा बालभैरवको भाकल गरेर निको हुने स्थानीयवासीको किंवदन्ती छ । यो मन्दिरमा हरेक साताको मङ्गलबार मात्रै पूजा हुने गर्छ । मन्दिरको विश्वासका कारण गलकोट र बलेवादेखि पनि कैयौँ मानिस पूजा गर्न पुग्ने गरेका ८० वर्षीय नरबहादुर खत्रीले बताउनुभयो ।

वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिने रहेछ भनेर यो उदाहरण बनेको बताउनुभयो । उहाँले मूर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाइएको जानकारी दिनुभयो