images

एनआरएनएमा बद्री केसी समूहको उम्मेदवारी घोषणा

काठमाडाैँ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष बद्री केसीको समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ। केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो।

केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार तथा कूटनीतिक नियोगलगायतसँग सहकार्य गर्ने बताएका छन्।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (यूके), डीबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया)लाई उम्मेदवार बनाएका छन्।

त्यस्तै, महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिंखडा (यूके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्षमा यमुना भट्टराई (अमेरिका)ले उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा