images

दाङ बङ्गलाचुलीमा नमूना मतदान सम्पन्न 

देउखुरी - स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र बदर मत काम गर्नका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज बङ्गलाचुली गाउँपालिका–५ लोहारपानीमा नमूना मतदान गरेको छ । 

साङ्केतिक चुनाव चिह्न राखेर बङ्गलाचुलीको वडा नं ५ का मतदातालाई नमूना मतदान गराइएको थियो । बाउन्न पुरुष र १२ महिला गरी ६४ जना मतदानमा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ । आंशिक मत बदर भएको, सदस्यलाई मतदान गर्दा पाँचवटा मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

नमूना मतदानमा महिला, पुरुष, अशक्त र ज्येष्ठ नागरिकको लाइनलाई व्यवस्थित गर्न सिकाइएको थियो । नमूना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारी, शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुँवर, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाता सचेत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा