images

सिंगारी पाठी (लघुकथा) - सुनिता ढुंगेल रेग्मी

णेशप्रसाद शर्माको घरमा खुब रमाइलो वातावरण छ । उनकी सात वर्षीय छोरी मुना साह्रै हर्षविभोर र रमाएकी छिन् । बुवा र आमाकी एक्लै छोरी मुना । हिजो हाट जाँदा एउटी पाठी किनेर ल्याइदिएपछि त भुइँमा खट्टा छैन उनको । घरमा पाल्नको लागि ल्याएकी थिइन् पाठी । पाठीलाई मुनाले अति माया गर्थिन् । स्कुल जाँदा पनि मुनाले पाठीलाइ साथै लैजाने गर्थिन् । खेल्न जाँदा, खाँदा,  गृहकार्य गर्दा, गाउँ डुल्दा पाठीलाई एकै छिन पनि छोड्दिन थिइन् । एकदिन सबैजना साथी सँग मिलेर मुनाले पाठीको नाम के राख्ने भनेर सल्लाह गरिन् । कसैले काली भने, कसैले मने राख्ने भने । अन्तिममा मुनाले पाठीको नाम सिंगारी राख्ने निर्णय गरिन् ।

सिंगारी सबैकी प्यारी थिइ । मान्छेले बोलेको भाषा राम्ररी बुझ्थी । सायद मान्छेको संगत गरेर होला । एकदिन गणेशप्रसाद र उनकी श्रीमतीले दशैंमा के गर्ने भनेर सल्लाह गरे । दुवैको सल्लाह बमोजिम सिंगारीलाइ दशैंमा काट्ने निर्णय गरे । यो कुरा मुनाले सुन्दै थिइ । अनि दुगुर्दै आएर आमाबुवालाई भनिन्, "के कुरा गर्दै हुनुहुन्छ आमा बुवा?"

गणेशप्रसादले भने, "नानी यो दशैंमा सिंगारीलाइ काटेर मासु खानपर्ला भनेर सल्लाह गर्दै थियौं। "

"नाइँ नाइँ सिंगारीलाई काट्न हुँदैन। "

मुनाको कुरा नसुनेझैं गरी दुवै श्रीमान श्रीमती कोठा भित्र पसे।

 

दशैंको चहलपहल सुरु भयो । सबै गाउँलेहरू दशैंको लुगाफाटा किन्न व्यस्त भए । तर मुनालाई यसपाली दशैंमा रमाइलो भएन । किनभने बुवा आमाले सिंगारीलाइ काटेर दशैं मनाउने भनेका थिए। मन अमिलो पारेर मुना बसेकी थिइन् । हुँदाहुँदै सप्तमी पनि बित्यो । अष्टमीको दिन सिंगारीलाई मार हान्ने तयारीमा व्यस्त भए उनका आमा बुवा । तर घरमा मुना र सिंगारी दुवै थिएनन्। गणेश प्रसादका दम्पत्ति निकै निराश भए । साँझपख अचानक मुना सिंगारीलाई डोर्याउँदै घरभित्र पसिन् । दुवैलाई देखेर गणेशप्रसाद र उनकी श्रीमती खुसी भए। अनि छोरीलाई प्रश्न गरे, "छोरी, तिमी र सिंगारी कता गएका थियौ?"

"बुवा आमा, आज हजुरहरूले सिंगारीलाई मार हान्ने अनि दशैं मनाउने भन्नु भएको थियो । त्यसैले मैले सिंगारीको ज्यान जोगाउन पल्ला घरे साहिंला दाइको घरमा लुकाएर राखेको थिएँ । बुवा सिंगारी पनि हाम्रो घरको सदस्य हैन र ? अनि उ पनि त हामीले बोल्ने भाषा सबै बुझ्छे नि । अनि हजुरले उसलाई कसरी काटेर खानु हुन्छ बुवा?" भन्दै आँखाभरी आँसु झार्दै रुन थाली। गणेशप्रसाद पनि छोरी संगै रुन थाले। "हे प्रभु! यति सानी छोरीको यत्रो ठुलो बुद्धि ! मलाइ माफ गर छोरी, म बाट ठुलो भूल भयो । अब देखि कुनै पनि दशैंमा हामी खसी बाख्रा काट्ने छैनौ । पशुहत्या हामी कहिल्यै गर्ने छैनौं । " छोरी सँग बाचा बाँधे। अनि सबैजना साकाहारी भएर सुखमय जीवन बिताए।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा