images

मिटरबक्स जडानमा उपभोक्ताबाट रकम असुली

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालयमै अवैधरूपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा जडान गरिएका मिटर रिडिङ तथा बिग्रिएको विद्युत् मर्मतमा प्राधिकरणका कर्मचारीले ढिलासुस्ती गर्ने गरेको पाइएको हो । 

दश स्थानीय तह रहेको जिल्लामा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम तीव्रगतिमा भइरहेको छ । आर्थिक वर्ष २०७८÷७९ भित्र जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताका घरमा बिजुली बाल्ने योजनाका साथ प्राधिकरणले जिल्लामा विद्युतीकरणको कामलाई तीव्रता दिएको हो ।

विद्युतीकरण गर्ने क्रममा उपभोक्ताको घरमा मिटरबक्स जडान गर्दा निर्माणस्थलमा खटिएका प्राधिकरणका कर्मचारीले अवैधरूपमा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको छ । प्राधिकरणका कर्मचारीले एक जना उपभोक्ताको घरमा मिटरबक्स जडान गर्दा रु ५०० देखि रु एक हजारसम्म रकम असुल्ने गरेको पाइएको हो ।

यतिसम्म कि मिटरबक्स लिन जाने उपभोक्तालाई प्राधिकरणकै कर्मचारीले कार्यालयमै अवैधरूपमा एमसिबी बिक्री गर्ने गरेको पाइएको छ । बजारमा रु ४०० मा खरिद गर्न पाइने एमसिबी रु ६०० देखि रु एक हजारसम्म अवैधरूपमा उपभोक्ताबाट रकम लिएर कार्यालयबाटै बिक्री गर्ने गरेको पाइएको हो ।

प्राधिकरणको कार्यालयमै अवैधरूपमा व्यापार गर्ने कर्मचारीमाथि अहिलेसम्म कसैले चासो नदिएको उपभोक्ताको गुनासो छ । “मिटरबक्स लिन विद्युत् प्राधिकरण जाँदा कर्मचारीले एमसिबीसमेत लानुपर्छ भनेर कर ग¥यो”, नाम नभन्ने शर्तमा एक उपभोक्ताले भन्नुभयो, “होला त भनेर रु ८०० तिरेर एउटा एमसिबी लगेँ, तर बजारमा निस्केर त्यही एमसिबीको मूल्य सोध्दा रु ४०० मा पाइने रहेछ ।”

दिनमा दर्जनौँपटक अवरुद्ध हुँदै आएको विद्युत्को सही समयमा प्राधिकरणबाट मिटर रिडिङ नगरी ढिला गर्दा उपभोक्ताले हर्जनासहितको महसुल बुझाउन बाध्य छन् । महिनौँसम्म विद्युत् मिटर रिडिङ नगर्दा सेवाग्राही चर्को हर्जना तिर्न बाध्य भएका हुन् । जिल्लाका दशवटै स्थानीय तहमा प्राधिकरणले समयमै विद्युत् मिटर रिडिङ नगरेको स्थानीयवासीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरेको बन्दाबन्दीमा सरकारले छुट दिने निर्णय गरे पनि उक्त अवधिको समेत प्राधिकरणले हर्जना शुल्क लिएको पाइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा