images

बाख्रापालनबाट मनग्य आम्दानी

बझाङ  - “राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै ।, मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्टेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुनुहुन्छ जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । उहाँले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चार÷पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसक्नु भएको छ । 

उहाँले विभिन्न व्यवसाय सुरु गर्नु भए पनि कतैबाट सोचेजस्तो लाभ भएन । उहाँ भन्नुहुन्छ, “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालें तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चार÷पाँच वटा बाख्रा बेचिन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा “गरे हुन्छ” भन्ने सोच थपिएको उहाँको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देख्नुभएका भरतबहादुर जङ्गली जनावरबाट भने आजित हुनुहुन्छ । उहाँको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उहाँ बताउनुहुन्छ । “बाख्रापालनबाट केही घाटा छैन,” उहाँले भन्नुहुन्छ, “दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ ।”

उहाँले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पाल्नु भएको  छ । उहाँ भन्नुहुन्छ, “मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।” भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गर्नुहुन्छ । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो,” उहाँ भन्नुहुन्छ,“कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।”

पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् ।  वनभोजमा आउनेहरुले पनि उहाँसँग खसी बोका किनेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । “यसै वर्षको मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,” उहाँले भन्नुहुन्छ । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आउनुभएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो,” उहाँले भन्नुभयो, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई÷चार वर्षयता भने बचत पनि भइरहेको छ ।”

त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उहाँले सुनाउनुभयो। भरत मात्रै हुनुहुन्न, उहाँका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्नुहन्छ । पुँगरमा बस्दै आउनु भएका बलराम विष्ट भन्नुहुन्छ, “पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।” उहाँले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आउनुभएको छ । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा