images

घरायसी विवादमा श्रीमतीको हत्या

सुरुङ्गा - झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । 

गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो । 

भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा