images

भक्तपुर नरगव्यापी कसिमला पाँय् प्रतियोगितामा कोजू प्रथम   

भक्तपुर - गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार भएको खुल्ला भक्तपुर नगरव्यापी कसिमला पाँय् प्रतियोगितामा लक्ष्मीभक्त कोजू प्रथम भएका छन् । प्रतियोगितामा राजाराम प्रजापति दितीय र कृष्णगोपाल प्रजापति तृतीय भए । प्रतियोगिताका विजयीहरुलाई भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा ३७ जना सहभागी रहेको थियो । वर्ष ७३ का लक्ष्मीभक्त दुवालदेखि १४ बर्षका सलिन बोहजूसम्म प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले रेफ्रि राजेन्द्र प्रजापतिलाई कसिमला पाँय् हस्तान्तण गरी गरेका थिए । उदघाटन कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापति संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वा, उपाध्यक्ष श्रीप्रसाद   प्रजापति, सचिव सत्यराम ज्ञामरु, युवा तथा खेलकुद उपसमितिका संयोजक सिद्धान्त प्रजापतिलगायतले खेलको महत्वबारे चर्चा गरे ।
यो खेलका लागि नर्कट वा बेत बाँसको चार ओटा कप्टेरा वा पत्ती आवश्यक पर्छ । पत्ती यस खेलको मुख्य सामान हो । यसलाई नेवारीमा पाँय् भनिन्छ । साथै यस खेलमा एउटा बोर्ड र दुईथरि गोटी आवश्यक पर्दछ । दुईथरि गोटीमा स्थानीयहरूले खेल्ने बेलामा एउटा इँट्टाका टुक्रा राख्छन् भने अर्को पक्षले ढुंगाका टुक्रा राख्ने चलन छ । विशेष गरी यस बोर्डको बीचको भागलाई मला भनिन्छ । मलाको शाब्दिक अर्थ गल्ली हो । ती कोठाहरू १७ देखि २५ वटासम्म हुने गर्छन् ।

यो खेल पाँय् फालेर सुरु गरिन्छ । कसी नभएसम्म आफ्नो गोटी चाल्न पाइँदैन । गोटी चाल्ने मुख्य आधार यसमा रहेको पाँय् र कप्टेरामा आउने संख्या हो । यसमा दुईजना खेलाडीले खेल्न मिल्ने खेल हो । खेलाडीले आफ्नो गोटी दायाँबाट चाल्नुपर्ने नियम छ । दुवै पक्षले पाँय् उफार्दै पाय्मा आएको संख्याको आधारमा आफ्नो गोटी चाल्नुपर्छ । यो एक किसिमले लुडो जस्तै पनि देखिन्छ । 

चारवटा पत्ती उफार्दा यदि तीनवटा पत्ती घोप्टो परेर एउटा माथि फर्केमा कसी हुन्छ । यसपछि मात्र गोटी चाल्न पाइन्छ । जस्तै लुडोमा एक आएपछि कोठाबाट बाहिर निस्कन पाउने भने जस्तै कसी नआएसम्म गोटी चाल्न पाइन्न । कसिपाँय् ४ वटामध्ये २ वटा माथि फर्केको र २ वटा घोप्टो परेमा द्वाक (२) मानिन्छ । त्यसैगरी ३ वटा माथि फर्केको र १ वटा घोप्टो परेमा सुदी (३) मान्निछ । ४ वटा माथि फर्केमा पिइ (४) मानिन्छ । यदि कसिपाँय् चारैवटा घोप्टो परेमा ङा (५) मान्निछ । यसरी कसिपाँय् उफार्दा पिई (४) र ङा (५) आएमा पुनः दोहोर्याएर कसिपाँय् उफार्न पाइन्छ । यो खेल खेल्न कम्तीमा २० मिनेट देखि १ घण्टाको समय लाग्दछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा