images

विनादर्ताका अनलाइन र युटुबलाई नियन्त्रण गर्न प्रेस काउन्सिलको गृहकार्य

सोलुखुम्बु । नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । 

 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि काउन्सिलले गृहकार्य गरिरहेको बताउनुभयो । 

पैसा कमाउने आशमा मानिसको चरित्र हत्या भइरहेकाले यस्ता युटुब च्यानललाई व्यवस्थित तथा नियमनका लागि सरकारले पनि ठोस योजना ल्याउनुपर्ने उहाँको भनाइ छ ।

प्रेस काउन्सिलमा हालसम्म तीन हजार दुई अनलाइन, एक हजार ३०० रेडियो, ४००  छापा र दुई टेलिभिजन सञ्चालनका लागि दर्ता भएको तथ्याङ्क रहेको छ । काउन्सिलका सदस्य ठाकुर बेलवासेले पत्रकारको अदालत काउन्सिल भएको भन्दै कुनै पनि गुनासो तथा उजुरी भए निर्धक्क भएर उजुरी गर्न सकिने बताउनुभयो । युटुब च्यानलका कारण पछिल्लो समय नेपालको पत्रकारिता धरासायी बन्दै गएको भन्दै उहाँले स्वच्छ पत्रकारितालाई जोड दिन आग्रह गर्नुभयो । पत्रकारिता पेशासँग नभई प्रतिष्ठासँग जोडिएको उहाँको भनाइ छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जिल्लामा व्यावसायिक पत्रकारिताले निरन्तरता पाएको भए पनि नेपालको अवस्था कमजोर रहेको उहाँको भनाइ छ । पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने भए पनि अहिले क्यामेरा देख्दा नागरिक भाग्नुपर्ने अवस्था सिर्जना भएकाले नियनकारी निकायको क्रियाशीलता बढ्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले पत्रकार आफैँ अनुसन्धानकर्ता बन्दा समस्या सिर्जना हुने गरेको बताउनुभयो । प्रहरीले अनुसन्धान गरिरहेका विषयलाई मिडियामा ल्याउने तथा स्रोतको संरक्षण नगर्दा अपराध अनुसन्धानमा समेत असर पुग्ने गरेकाले यसतर्फ नियमनकारी निकायको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा