images

शेयर बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि, चार दिनमा थपियो १ खर्ब ८५ अर्ब रूपैयाँ

काठमाडौं । चार दिन शेयर बजार लगातार उकालो लाग्दा लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । बजार बढेर ३२ सय विन्दुमा पुगेको समयमा आफ्नो आफ्नो सम्पत्ति धेरै देखेका लगानीकर्ताहरू पछिल्लो सयम बजार घट्दा तनावमा थिए । कतिपय लगानीकर्ताले त घाटा खाएरै भएपनि पेनिक सेलसमेत गरे । तर, आँट र हिम्मतसँगै आशा राखेर आँफूसँग भएको शेयर नबेच्ने लगानीकर्ताको सम्पत्ति भने ४ दिनको अवधिमा केही हदसम्म सुधार देखिएको छ ।  

अहिले लगातार बजार उकालो लाग्न थालेको छ । यसरी बजार उकालो लाग्दा लगानीकर्ताको तनाव केही हदसम्म कम भएको छ । पछिल्लो चार दिनामा लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पूँजीकरण) १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बढेको छ । 

यो साताको पहिलो दिनदेखि नै बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार गत साताको अन्तिम कारोबार दिन बिहीबार कुल बजार पूँजीकरण ३१ खर्ब ८४ अर्ब ७६ करोड थियो । बुधबारसम्म उक्त बजार पूँजीकरण बढेर ३३ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ४ दिनको अवधिमा नेप्से परिसूचक पनि १३० अंकले बढेको छ । 

गत साता लगातार ३ करोबार दिन नै बजार घटेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार २३८ दशमलव ६२ विन्दुमा थियो भने बुधबार २ हजार ३६९ दशमलव शून्य ६ विन्दुमा छ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि लगानीकर्ताको सम्पत्ति वृद्धि हुने देखिन्छ । किन भने पछिल्लो समय बैंकको ब्याजदर नबढ्ने समाचार बाहिरिनुका साथै स्थानीय तहको निर्वाचनमा खर्च हुने पैसा बैंकिङ च्यानलमा आउने भएकाले तरलता सहज हुने देखिन्छ । यसले पनि बजारलाई बढ्न मद्दत गर्ने लगानीकर्ताको बुझाइ छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा