images

ब्लाइन्ड रक्सकै सिक्वेल बनाउँछु - लिम्बू

काठमाडाैं -पछिल्लो समय निकेश लिम्बू नेपाली फिल्म क्षेत्रमा परिचित नाम बनिसकेका छन् । फिल्म हँसियामार्फत सहनिर्माताको रूपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा आफूलाई अगाडि बढाउँदै छन् ।

सुनसरीकाे धरान निवासी निकेश दुई दशकयता बेलायतमा बसोबास गर्छन् । पेसाले ब्रिटिस आर्मी भए पनि निकेशको झुकाव भने साहित्यका विभिन्न विधामा छ । उनले निर्माण गरेको फिल्म रातो घरले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ब्लाइन्ड रक्समा उनले आफ्नो दुईवटै आँखाको ज्योति गुमाएकी दृष्‍टिविहीन सृष्टि केसीको जीवनीलाई उतारेका थिए । 

फिल्मी मोह

निकेश सानैदेखि फिल्म हेर्ने गर्थे । विशेषत: उनलाई सोसल ड्रामा जनरको फिल्म मन पर्छ । तर उनलाई त्यो बाल्यकालमा थाहा थिएन । ‘मैले धेरै फिल्म हेरेको छु’ उनले भने ‘तुलसी घिमिरे त्यसबेला मलाई मन पर्ने निर्देशक, उहाँको धेरै फिल्म हेरेको छु ।’ लाहुरे, दुई थोपा आँशु, कोसेली, दक्षिणा, दर्पण छायाँलगायतका फिल्म उनका प्रिय छन् । सायद, त्यही बाल्यकालबाट फिल्मको नजिक पुगिसकेका थिए उनी । उमेर बढ्दै गएपछि उनी ब्रिटिस आर्मीमा भर्ना भए, तर पनि उनको लगाव फिल्मसँग कहीँ कतै भने थियो नै ।

निकेशफिल्म प्रवेशको श्रेय भने दाजु सुरज सुब्बा नाल्बो र बेस्ट फ्रेन्ड मिलन चाम्सलाई दिन्छन् । ‘मलाई राम्रो फिल्म निर्माण गरौं भन्ने लाग्थ्यो तर यस क्षेत्रमा प्रवेश गराउने श्रेय भने सुरज दाइ र मिलनलाई जान्छ’ निकेश भन्छन् ‘राजकुमार राईजी पनि मिल्ने साथी यसैले गर्दा उहाँहरूकै कारण फिल्मनगरीमा छु । मलाई हँसियामा अफर आयो,त्यसैको निरन्तरताको रूपमा छु । रातो घर पनि कथा मन पर्‍याे, राम्रो लाग्यो । कहीँ कतै हाम्रै समाजको कथालाई देखे अझै हामी त पूर्वेली भएकाले पनि त्यसलाई पर्दामार्फत सचेतनाको रूपमा पनि ल्याउनु पर्छ भन्ने लाग्यो ।’

ब्लाइन्ड रक्स निर्माण

उनलाई मन पर्ने जनर 'ब्लाइन्ड रक्स' जस्ता फिल्म हुन् । बायोपिक र रियल कन्टेन्ट बेस्ड फिल्म मन पर्ने उनी सुनाउँछन् । ‘मैले सृष्टि केसी बहिनीको स्पिच सुने, जसले मलाई छोयो । उनी आफै आँखाको ज्योति गुमाएकी छिन् तर उनी अरुलाई प्रेरणा दिन्छिन्, यसले मेरो मन छोयो । त्यसपछि मिलनसँग सल्लाह गरेर मैले फिल्म निर्माण गरेको हुँ । नेपालमा हाम्रो सोचअनुसारको फिल्म हुन् सकेन तर युकेमा र अन्य देशमा पनि राम्रो रेस्पोन्स पाए । हामी बाहिर हुनेलाई रेगुलर फिल्मको तुलनामा कन्टेन बोकेको फिल्म मन पर्छ , यसैले मेरो फिल्म ब्लाइन्ड रक्स राम्रो भयो,’ उनले भने ।

नेपाली फिल्मका लागि युकेको बजार

बेलायतमा बसोबास गर्ने निकेश निर्मातासँगै राम्रो दर्शक पनि हुन् । उनले आफ्नो फिल्म त राम्रोसँग चलाए, तर समग्रमा मार्केट कस्तो छ त ? उनी भन्छन्- ‘फिल्म राम्रोसँग रिलिज गर्नुपर्छ ।’ उनले आफ्नो फिल्म स्काई सिनेमासँग जोडेर फिल्मलाई प्रदर्शन गरे । भन्छन्- ‘फिल्म राम्रोसँग प्रदर्शन गर्नुपर्छ, हलमै प्रदर्शन गर्ने सके चाम बढ्छ र त्यसमै दर्शक आकर्षित हुन्छन ।’ फिल्मलाई हलमै देखाउन थालेपछि दर्शकले चासो लिने गरेकाे उनले बताए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा