images

साहित्यकार निशा के.सी.काे लघुकथा कृति 'ओेजन' सार्वजनिक

काठमाडाैं - साहित्यकार निशा के.सी. काे लघुकथा सङ्ग्रह 'ओजन' शनिबार लाेकार्पण भएकाे छ । काठमाडौंकाे सुकेधारा स्थित एक बैंक्वेटमा नेपाल स्रष्टा समाजद्वारा केसीको लघुकथा सङ्ग्रह 'ओजन' सार्वजनिक गरिएकाे हाे ।

मुक्तक लेखनमा सक्रिय सर्जक के.सी.काे   'ओजन' पहिलो लघुकथा कृति हाे । लघुकथा सार्वजनिक गरेर के.सी. आख्यान क्षेत्रमा अग्रशर भएकी हुन् ।


कार्यक्रममा  प्रमुख अतिथि साहित्यकार तथा समालाेचक प्रा.डा. लक्ष्मण गौतमले के.सी.काे कथाकारिताबारे प्रकाश पार्नु भयाे । उहाँले  निशा के.सी. राम्रो मुक्तककार भएकै कारण राम्रो लघुकथा सृजना गर्न सफल भएकाे बताउनु भयाे । गाैतमले भन्नू भयाे 'आख्यानमा लोकप्रिय लघुकथा हो, शैलीगत सृजना रहेकाे  'ओजन' लघुकथा ८० प्रतिशत राम्रा कथा रहेकाेले  कृति सङ्ग्रह र पठन याेग्य छ । अब निशाले कथा लेख्दा यो कृतिभन्दा कमजोर लेखिनु हुन्न । अब आफ्नो रचनाको प्रतिस्पर्धा आफ्नै सृजनासँग हुनेछ  ।'

प्राज्ञ विवश पोखरेलले लोकार्पित पुस्तकबारे बोल्नु भएको थियो । प्रा.डा. ज्ञानु पाण्डेले निशा के.सी.को साहित्य प्रेम र साहित्य प्रतिको लगाव बारे प्रकाश पार्नु भयाे ।  लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले लघुकथाकार के.सी.लाई लघुकथा शैलीमा छोटो शुभकामना र बधाई दिएका थिए। कथाकार मन्दिरा मधुश्रीले के.सी.ले कथाकाे क्षेत्रमा पनि लेखनलाई  निरन्तरता दिने  विश्वास व्यक्त गर्नु भयाे । 

कार्यक्रममा सर्जक के.सी.ले लाेकार्पित कृति बाट 'ओजन ' शिर्षककाे लघुकथा वाचन गर्नु भयाे । उहाँले आयोजक नेपाल स्रष्टा समाज सहित पुस्तक प्रकाशन गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयाे । के.सी.काे यस अघि "रहरले किनार छुँदा" मुक्तकसंग्रह प्रकाशित छ । उहाँ मुक्तकसागर  पत्रिकाकाे सम्पादक हुनुहुन्छ । 

नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनको सभापतित्वमा कार्यक्रम आयाेजना भएकाे हाे  । सञ्चारकर्मी  तथा कवि मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा