'हुम्लाबाट हेर्दा काठमाडौँ र सुर्खेत पनि दुर्गम क्षेत्र लाग्छ' : डा. रोकाया

काठमाडाैँ - डा.दीपेन्द्र राेकाया माओवादीका नेता हुन् । वि.सं.२०५३ सालबाट जनादेश साप्ताहिककाे मिसन पत्रकारिताबाट सुरू गरेर निरन्तर रुपमा लेखनका माध्यमबाट जनतालाई सुसूचित पारेका डा. दीपेन्द्र राेकायाले कर्णाली प्रदेश योजना आयोगमा समेत काम गरि सकेका  छन् ।  हाल कर्णाली प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट डा.दीपेन्द्र रोकायालाई उम्मेदवार सिफारिस गरेपछि हुम्लाको राजनीतिमा हलचलनै ल्याएको छ । उनी हुम्ला जिल्ला सर्केगाड गा.पा.-०८ रादेउका बासिन्दा हुन् । यस्तै विभिन्न   विषयकाे सन्दर्भमा डा.रोकायासँग नेपालकुरा मिडियाका संवाददाताले गरेकाे कुराकानी ।

तपाईलाई पार्टीले प्रदेश सभा सदस्यका लागि हुम्लाका लागि सिफारिस गरिसकेकाे छ । अब आफ्नो गृह जिल्ला हुम्लालाई कस्तो जिल्ला हो भनी चिनाउन चाहनु हुन्छ ?

हुम्ला सम्भावनाले भरिपूर्ण हिमाली जिल्ला हो । यद्यपि हुम्लामा हिमाल¸ पहाड र तराको सबै विशेषता रहेको भू–क्षेत्र छ । हुम्लामा भएका प्राकृतिक सम्पदाको पहिचान र परिचालन भएको छैन । उपलब्ध जनशक्तिको वर्गीकरण गर्न सकिएको छैन । उत्पादन कम हुन्छ । जम्मै उत्पादन रैथाने अर्गानिक बाली भएकाले यसमा औषधीय गुण छ । भौगोलिक रुपमा काठमाडौँ तथा सुर्खेतबाट टाढा रहेकाले दुर्गम मानिएको छ । हुम्लाबाट हेर्दा काठमाडौँ र सुर्खेत पनि दुर्गम क्षेत्र लाग्छ । म यो दुरी मेटाउन चाहन्छु ।

काठमाडौ र सुर्खेत पनि दुर्गम क्षेत्र ?

हो नि ,तपाई आफै विचार गर्नुहोस् न ? काठमाडौ उपत्यकामा लामो समय राज्य गर्ने किराँतहरु किन्नरका रुपमा हुम्लामा शासन गरेका थिए । त्योभन्दा अघि स्वर्गका राजा मानिएका इन्द्रको राज्य पनि यसै क्षेत्रमा थियो  भनिएकाे छ। सबैले चर्चा गर्न सक्ने कुरा गरौ भने खस देशको संस्थापक नागराजको प्रथम मुकाम पनि हुम्ला हो । त्यसबेला यो क्षेत्र केन्द्रमा थियो । अहिले हुम्ला किन दुर्गम मानिन्छ भने यो केन्द्र खस देशको जुम्लाबाट काठमाडौ सर्यो । काठमाडौमा रहेका गोर्खाली शासकहरुले पूर्वाग्रह साँधे । उनीहरुले गर्ने ब्यवहारका कारण हुम्ला लगायतका जिल्ला दुर्गम बनाइयो । यसै सोचले गर्दा र पञ्चायत कालमा आएर बाह्य समाजका लागि प्रतिबन्धित क्षेत्रका रुपमा राख्दा हुम्ला थप विकट हुन पुग्यो।

अहिले त प्रविधि, यातायात र हवाइ उडानले काठमाडाैंसँग हुम्ला निकट भइसक्दा पनि हामी अझै हुम्लालाई अझै दुर्गम अति दुर्गम भनिरहन आवश्यक हाेला र?

शासकीय बुझाई  र व्यवहारले गर्दा । राज्यको नीतिले संस्कार र संस्कृतिको विकास भएको हुन्छ । खस देश हुँदा जुम्ला सम्पन्न हुनुको कारण सबै घरको उपस्थिति राज्यमा रहन्थ्यो । घरको पहिलो सन्तानले घरबार सम्हाल्नु पर्दथ्यो । दोस्रो सन्तानले राज्यको आवश्यकतामा काम गर्नु पर्दथ्यो । तेस्रो सन्तानले व्यापार व्यवसाय गर्नु पर्दथ्यो । घर बलियो भयो भने समाज र देश बलियो हुन्छ भन्ने मान्यता राखिएको थियो । यो व्यवस्थाको छिन्नभिन्न पार्ने कामको अन्तिम रुप १८४६ मा भयो । त्यस यता राज्यको नजर दमनमा मात्र केन्द्रित भएकाले यहाँ कुनै पनि उल्लेखनीय विकास निर्माणका कामहरु भएनन् । त्यसैले हुम्ला अझै काठमाडौंबाट दुर्गम जिल्ला नै हाे । एउटै कुरा सय पटक प्रयोग गरियो भने सत्य पनि झुट सावित हुन्छ भनेझै मानसिक रुपमा पराजित गरिएकाले सबै कुरा ओझेल पर्न थाल्यो । यसैले त माओवादी जनयुद्धमा नोकरी पाए सरह यहाँको ढुङ्गो माटो पनि माओवादी हुन पुग्यो । सबै दुर्गमता चिर्न । तर अझै बाँकी छ हुम्ला सुगम हुम्ला बन्न । उहाँ विकासले पूर्ण भए र नागरिककाे  चेतना भरिपूर्ण भएमात्र हुम्ला सुगम महशुष गर्न सकिन्छ ।

माओवादी विद्रोह कर्णालीमा आवश्यक नै थियो  ?

एकै शब्दमा भन्नु पर्दा आवश्यक थियो भन्छु। त्यसपछि किन भन्ने प्रश्न आउँछ । किनकि मैले यसअघि नै उल्लेख गरिसकेँ कि राज्यले निकै दमन गरेको थियो । जुम्ला कब्जा भएको २२ वर्षसम्म जुम्लाका अन्तिम काजी शोभान शाही हुम्ला र तिब्बतको सीमा क्षेत्रमा बसी विद्रोह गराइ रहे। यसै कारण कर्नालीमा गोर्खालीले चर्को दमन गरेका थिए । गोर्खालीहरु आउँदा सारा लोक स्वास्नीले समेत गाउँ छोडी भाग्नुपर्ने अवस्था आयो । कोही पनि सुरक्षित नहुने भएपछि भाग्नु परेन ! यसैले त उनीहरु गाउँ प्रवेश नगरुन् भनेर गाउँ आयो कि गु आयो भन्ने नकारात्मक विम्बका रुपमा घर वरीपरी दिसा गर्ने चलन बस्न गयो । हामी जुन देशका थियौ¸ त्यही देशमा पराइ वा शरणार्थीजस्ता मात्र थियौ । यसैले विद्रोह आवश्यक थियो ।

माओवादीले नयाँ जनवादी राज्य व्यवस्थाका लागि विद्रोहको आव्हान गरेपछि कर्णालीको विद्रोहको चेत माओवादीमा समाहित भयो । यसै आन्दोलनमा लागेर हुम्लाका १२७ जना होनहार योद्धारुले रगत बगाउनु भएको छ । हुम्लाकै २७०० जना युवाले जनमुक्ति सेना भ पूर्व मेचीदेखि पश्चिम महाकाली पारीको दोधारा चाँदनीसम्मको सामन्ती किल्ला उखेल्न लड्नु पर्यो । करिव ३०० कार्यकर्ताले राजनैतिक क्षेत्रमा काम गरेका थिए । त्यो न्यायपूर्ण युद्धमा मैले केन्द्रीय प्रचार विभागमा रही काम गरेको थिएँ ।

यतिवेला माओवादी जनयुद्धको उपलब्धीको रुपमा संघीय राज्य व्यवस्था आएको छ । अहिले सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको छ । नजिकको सरकारको रुपमा स्थानीय सरकारहरु बनेका छन् । स्थानीय र संघीय सरकारको समन्वय गर्न प्रदेश सरकार बनेको छ । हामी यो परिवर्तनको जन्मदाता हौं। हाम्रो नेता अध्यक्ष कमरेड प्रचण्ड हुनुहुन्छ ।   

तपाई  सहभागी भएकाे जनयुद्धकाे थाेरै पृष्ठभूमी बताइदिनुस् न ?

जनमत संग्रहबाट जागेका बहुदलवादी र कम्युनिस्ट नेताहरुको संगतले जोगवीर काका¸ सुरेश रोकाया र धनवीर रोकाया दाजुहरु केही क्रान्तिकारीहरुको सम्पर्कमा पुग्नु भएको रहेछ । २०४५ सालमा अघोषित रुपमा बाल संगठन बनाएर पञ्चायती व्यवस्था विरोधी पम्पलेट टाँस्ने काम गरेका थियौ । माओको रातो कितावमा लेखिएका भनाईहरु पढ्दथ्यौ । जनताको सेवा गर¸ राज्य व्यवस्था बन्दुकको नालबाट जन्मन्छ भन्ने भावले प्रभावित भएँ । २०४६ सालको परिवर्तनपछि अनेरास्ववियु¸ अनेरास्ववियु छैटौँ हुँदै अखिल (क्रान्तिकारी) मा संगठित भएँ ।

२०५३ सालबाट जनादेश साप्ताहिकमा मिसन पत्रकारिता गर्न थालेँ । त्यसै वर्षबाट अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौ सम्पर्क समितिको अध्यक्ष भई  काम गरेँ । घरमा बुवा विरामी भएको खबर पाएर हुम्ला जाने क्रममा २०५५ माघ २२ गते बाजुराको कोल्टीमा गिरफ्तार परेँ । राज्यले मेरो चेतना दबाउन चरम यातना दियो । दुई  महिनापछि रिहा भएँ । त्यसबेलासम्म हुम्लामा कोही पनि साथीहरु पूर्णकालीन हुनु भएको थिएन । त्यसपछि प्रहरी दमन हुँदै जाँदा साथीहरु पूर्णकालीन हुन थाल्नुभयो ।

जनयुद्धको समयमा मैले पार्टीको केन्द्रीय प्रचार विभागमा रही जनादेश साप्ताहिकको सम्पादन गरेँ। यस समयमा देशभर पुगेर रिपोर्टिङ गरेँ । मिसन पत्रकारिता गरेकै कारण एक वर्ष आतंककारीको विल्ला लगाएर राज्यले २०५८ सालमा केन्द्रीय कारागारमा बन्दी बनायो।वार्ताको समयमा रिहा भएपछि पार्टीको निर्देशनमा शहर छोडेर रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण सेवाको सम्पादक भई  काम गरेँ । पश्चिम जाँदा भेरी कर्नाली प्रचार विभाग प्रमुख भएर काम गरेँ।

शान्ति प्रक्रियासँगै जनसन्देश दैनिकको प्रधान सम्पादक¸ रेडियो भेक आवाजको स्टेशन मेनेजर¸ जनदिशा दैनिकको कार्यकारी सम्पादक र पछि सम्पादक भएर काम गरेँ । यही क्रममा सम्बाद डवली प्रेस क्लवको स्थापना गरी सञ्चालन गरेँ । यसअघि कर्णाली प्रदेश योजना आयोगको सदस्य भई  कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना बनाउन नेतृत्वदायी भूमिका खेलेँ । हाल नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश समिति सदस्य तथा जिल्ला समन्वय समिति हुम्लाको संयोजक छु ।

तपाईको नेतृत्वमा बनेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले त्यहाकाे मुहार फेर्न सक्छ त ?

सक्छ । सबैमा जिम्मेवारी र काममा इमान्दारीता हुनपर्छ । मुल नीतिमा उभिएर प्रदेश सरकारले अगाडि बढाएको सात प्राथमिकताका साथ योजना तर्जुमा गर्ने¸ प्रभावकारी कार्यान्वयन गर्ने र सुशासनका लागि नियमित अनुगमन मुल्याङ्कन गर्न सके असम्भव भन्ने कुरा के छ र ?  त्यसका लागि अरु हिडे पुग्नेछन् भने हामी दौडिनु पर्दछ ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । यसमा तपाईको नाम पनि सिफारिस भएको छ ।  तपाईले पार्टीको टिकट पाउनु हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

केही साथीहरु र जनताले प्रतिनिधि सभाका लागि तयार हुन सुझाव दिनु भएको थियो भने  अधिकांश बस्ती र साथीहरुले यसअघि म कर्णाली प्रदेश योजना आयोगको सदस्य भएर योजना तर्जुमा गरेकाले प्रदेश सभामा लड्न सुझाव दिनुभयो । यस आधारमा हाम्रो जिल्ला पार्टीले प्रदेशमा र प्रदेशले पार्टी केन्द्रमा नाम प्रस्तावित गरिसकेको छ । प्रदेश सभामा मेरो उपस्थितिले यसअघि अगाडि बढाइएका आयोजनाहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउन सकिन्छ । नीति निर्माण गर्ने तहमा विषय विज्ञताको महत्व रहन्छ । त्यसका लागि म उपयुक्त पात्र हुँ भन्ने कुरा पार्टी नेतृत्व र आम जनसमुदायलाई  राम्रैसँग थाहा छ । यसैले मैले टिकट पाउँछु भन्नेमा मलाई  पूर्ण विश्वास छ । हुम्ली जनताले आफ्नो अमुल्य मत मलाई  दिनेछन् । म थप सक्रिय भई  जनसेवामा लाग्ने छु । 

तपाईले जनसेवा गर्छु त भन्नु , जनताका लागि के–के काम गर्ने  याेजना छ ?       

कदम राम्रो प्रश्न । प्रदेशसभामा प्रतिनिधित्व गर्ने भनेको यसको पहिलो काम नीति निर्माण गर्ने हो । प्रदेशका लागि आवश्यक ऐन तर्जुमा गर्ने हो । यसमा म जनमैत्री ऐन¸ कानुन र नीति बनाउन प्रभावकारी भूमिका खेल्न चाहन्छु र सक्छु पनि। यहाँ स्पस्ट दृष्टिकोण भएको प्रदेश सरकार बनाउने हो । प्रभावकारी सरकार बनाउन पहल गर्नेछु । आयोगमा हुँदा अगाडि बढाएको परियोजना बैंकमा रहेका प्रदेश सरकारको रुपान्तरणकारी आयोजनाहरु¸ प्रदेश महत्वका आयोजनाहरु र स्थानीय तहका पहिचानका आयोजनाहरुलाई अगाडि बढाउन पहल गर्नेछु । समग्रमा समाजवाद उन्मुख कर्नाली प्रदेश बनाउन पूर्वाधार क्षेत्रको विकास¸ आर्थिक क्षेत्रको विकास र सामाजिक क्षेत्रको विकास गरी बालबालिकालाई लगानी¸ युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिन विशेष पहल गर्नेछु ।

हुम्लाको विकास गर्ने आधार के के छन् ? योजनाबद्ध  रुपमा भनी दिनुहुन्छ कि ?

पूर्वाधार विकासका लागि सडक¸ विद्युत र सञ्चार हावा र पानीजस्तै आवश्यक छ । राजधानीसँग दुर्गमको रेखा मेट्न कर्नाली करिडोरको ट्रयाक खोल्नुका साथै स्तरोन्तीमा जोड दिनुछ । अन्तर प्रदेश सडकका रुपमा अगाडि बढाइएको कवाडी–ताँजाकोट–अदानचुली–सर्केगाड सडकलाई रिपसम्म पुर्याउनु छ । सर्केगाड–मारघोर–खार्पुनाथ–सिमकोट सडकको ट्रयाक खोल्नुछ । सडक पहुँच नभएका स्थानीय तहको केन्द्र जोड्ने सडकहरुमा तीर्थासैन–कल्ख्या–श्रीनगर–काँख्या–बारीगाउँ–कर्गैइ–पाल्स सडक¸ पिप्लाङ–ह्याप्स्या–फुचा–पंखा सडक¸ तुम्च–जैर सडक¸ सर्केगाड–बराइ–छ्यागी–घिउसी सडक¸ याङ्चु– लाली–गोप्का––भुब्रयाँ–रादेउ सडक¸ खगालगाउ–स्याँडा–याङ्गु सडकको ट्याक खोल्नुछ । औलेटा–छप्रेला–मैला–मदना सडकलाई स्तरोन्नतीमा लिनुछ । यसका साथै कवाडी–मासपुर सडक¸ पिप्लाङ–नेप्का सडक¸ खार्पुनाथ–चुवाखोला सडकको ट्रयाक खोल्नु छ । सिमिकोट–हिल्सा र सल्ली–लिमी सडक स्तरोन्नतीमा लाने पहल गर्नुछ । सल्लीसल्ला¸ लोती¸ घिउसी¸ थाली औल¸ याङ्चु¸ खार्पु र धारापोरीमा सडक पुल बनाउनु पर्नेछ । 

सडकजस्तै विद्युतीय राजमार्ग लिनका लागि मुगुबाट ३३ केभी राष्ट्रिय प्रशारण लाइन हुम्लाको सिमकोट हुँदै हिल्सा पुर्याउनु पर्छ । त्यसको सर्वे भई सकेको छ । त्यसको पूर्णता दिन लगाउनु पर्नेछ । यो भयो भने यहाँ अहिलेसम्म अध्ययन भएका हुम्ला कर्णाली–१ को सर्केगाड र चंखेली २३५ मेगावाट¸  हुम्ला कर्णाली कासकाडे ९१६ मेगावाट¸ हुम्ला कर्नाली सल्ली ६३ मेगावाट¸ दार्म नदी १० मेगावाट¸ कवाडी खोला २० मेगावाट¸ कवाडी खोला–१ को १५ मेगावाट र हेप्काखोला ५ मेगावाट जलविद्युत आयोजना अगाडि बढाउन सकिन्छ । सरकारसँग नीतिगत सहजीकरण र निजी क्षेत्रसँग लगानीको लागि आकर्षित गर्नुछ ।

एवं प्रकारले सूचना तथा सञ्चारको विकास आवश्यक छ । सबैको हातमा विश्व (मोवाइल देखाउँदै) हात पार्नका लागि अहिलेसम्म माइक्रो वेव रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला जोडिएको छ । अब हुम्लासम्म फाइवर विच्छ्याउनु पर्दछ । उत्पादन बढाउनका लागि सिँचाइ गर्नु पर्ने हुन्छ । तुम्च¸ दार्म¸ रोडिकोटको शेरामा सिँचाइ गर्नपर्छ । यी ठाउँमा केही काम अगाडि बढाइएको छ¸ सम्पन्न भएको देख्न चाहन्छु । ताँजाकोटको जिमाना काँडा बस्तीमा लिफ्ट सिँचाइ गर्नुपर्छ । कर्गै खोलादेखि कल्ख्यासम्म सिँचाइको व्यवस्था गर्नु पर्नेछ । जैरमुनीको बाँझिएको जिउलाको लागि पनि सोच्नु पर्छ । भुवा कल्लाँसदेखि गोठीसम्म र बराइदेखि साँयासम्मको जिउलोमा हराभरा ल्याउन सिँचाइको व्यवस्था गर्न आवश्यक छ । यहाँ हरेक खेतीयोग्य जमीनमा सिँचाइ हुनैपर्छ । घर–घरमा खानेपानी पुर्याउने नीति अख्तियार भएको समयमा सबै बस्तीमा स्वच्छ खानेपानी पुर्याउनु पर्नेछ ।  

हुम्लामा छरिएका बस्तीहरु छन् । यहाँ १२१ गाउँ बस्ती छन् । तिनको पुन: अध्ययन गर्नुपर्छ। सिमकोटलाई पर्वतीय आर्थिक केन्द्र शहर¸ सात वटा पालिकालाई सानो शहर¸ याल्वाङ¸ स्याँडा¸ छिप्रा¸ न्यारी र पिप्लाङमा हिमाली एकीकृत बस्ती विकास गर्नुपर्छ भनी दार्चुलादेखि पूर्व ताप्लेजुङसम्मका हिमाली बस्ती विकासमा उल्लेखित गरिएको छ । यसको कार्यान्वयन होस् भन्ने चाहना छ। मानव पुँजीको विकासका लागि पर्वतीय विश्वविद्यालय हुम्लामा हुनुपर्छ । कोट मावि रोडिकोटमा हिमाली आवासीय विद्यालय निर्माणको काम सिमालीमा हुँदैछ। यसलाई नमुना बनाउन चाहन्छु । यहाँका युवाहरु लोकसेवा मार्फत निजामती सेवामा प्रवेश गरुन् भन्ने हेतुले लोकसेवा पढ्न अभिप्रेरित गर्नुछ । यस्तै व्यवसायिक शिक्षा मार्फत रोजगारीका शाखाहरु बढाउन लगाउनु पर्नेछ।यी कामहरु मैले योजना आयोगमा हुँदा जग हालेको छु । त्यसलाई पूर्णता दिन चाहन्छु ।

तपाई युवाहरुलाई प्राथमिकता दिनु हुन्छ ? तपाईलाई नव–जवान युवाहरुको के कति साथ सहयोग रहेको छ ?

ज्येष्ठ नागरिकहरु अनुभव बैंक हुन् ।उनीहरुको सम्मान र सामाजिक सुरक्षा दिनुपर्छ । बालबालिका भविष्य हुन् । उनीहरुको विकासका लागि लगानी गर्नै पर्दछ । युवाहरु आजका हुन् । हामीले वर्तमान समयलाई समृद्ध बनाउने हो भने युवालाई प्राथमिकता दिनै पर्दछ । यसैले म चाहन्छु कोही पनि युवाले बेरोजगार छु भन्ने अवस्था नरहोस् भनी काम गर्न सकौ । त्यसका लागि राज्यले युवामैत्री नीति लिनुपर्छ । निजी क्षेत्रले लगानीका दायराहरु बढाउनु पर्छ ।रोजगागरीका क्षेत्र बढाउनलाई आवश्यकताका क्षेत्रहरु विस्तार गर्नुपर्ने हुन्छ ।हामीले कर्नाली सोच २१००¸ दिगो विकास लक्ष्य अगाडि सारेका छौ । यी सोच र लक्ष्यले कर्नालीको समृद्धि र सुखारीको लक्ष्य किटान गरेको छ । यसैले मेरो सोचमा साथ सहयोग दिने युवा साथीहरु प्रशस्तै हुनुहुन्छ । म उहाँहरु सँग भएपछि उहाँहरु मसँग नहुने कुरै भएन । हामी नव–प्रवर्तनका कार्यमा क्रियाशील हुन चाहन्छौ । यो युगको आव्हान हो । 

समय र विचारका लागि धन्यवाद !

हामी युग बदल्ने समयमा छौँ । यही बेला तपाईले मेरा विचारहरु संसार सामु राख्ने अवसर दिनुभयो । त्यसका लागि तपाई र तपाईको नेपालकुरा मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा