विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनको प्रतिफल : सामुदायिक विद्यालयहरुमा बढ्यो गुणस्तर- (भिडियाे सहित)

धादिङ । बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लागू गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम ‘एसएसडिपि’ धादिङ जिल्लाका सामुदायिक विद्यालयहरुमा प्रभावकारी बनेको छ । धादिङको थाक्रे गाउँपालिकामा रहेका विद्यालयहरुमा  एसएसडिपि कार्यक्रम कार्यान्वयनपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण मात्र बढेको छैन, शिक्षाको गुणस्तरमा पनि सुधार आएको छ ।  

थाक्रे गाउँपालिकामा एसएसडिपि लागू भएसँगै विद्यालयका भौतिक संरचना, शैक्षिक गुणस्तरमा सुधार आएको हो । थाक्रे गाउँपालिकाका शिक्षा शाखा प्रमुख अनिता खनालका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ‘एसएसडिपि’ कार्यक्रमसँगै गाउँपालिकाले पनि सामुदायिक विद्यालय सुधारका लागि आर्थिक विनियोजन तथा व्यवस्थापनले धादिङ जिल्लाका अधिकाँश सामुदायिक विद्यालयहरु गुणस्तरिय शिक्षाको बाटोमा अघि बढेको हो । 
मन्त्रालयले ‘एसएसडिपि’ कार्यक्रम लागू गरेपछि स्थानीय निकायले पनि शिक्षामा लगानी गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गरि सोहि कार्यक्रमलाई सघाउने गरि शिक्षा क्षेत्रमा लगानी गरिरहेको बताउनु भयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनालले भन्नु भयो ‘एसएसडिपि अन्तर्गत स्थानीय तहमा विद्यालयहरुसँग सम्वन्धित धेरै कार्यक्रमहरु छन् । विद्यालय शिक्षक, कर्मचारीहरुको तलवभत्ता, छात्रवृत्ति, विद्यालय निशुल्क खाजा कार्यक्रम, निशुल्क पाठ्यपुस्तक, विद्यालयमा सूचना तथा सञ्चार प्रविधि, भौतिक पूर्वाधार सुधारका कार्यक्रम, कक्षाकोठा व्यवस्थापन लगायत छन् । चालु आर्थिक वर्षको लागि गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँ छुटयाएका छौं ।’ 


प्रमुख खनालका अनुसार ‘एसएसडिपि’ लागूभएपछि विचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्या उल्लेख्य रुपमा घटेको छ । हाल थाक्रे गाउँपालिकामामात्र ४५ वटा सामुदायिक र ५ वटा सँस्थागत विद्यालय छन् । ती मध्ये गाउँपालिकाको केन्द्रमै रहेको सामुदायिक विद्यालय जनजागृती माविमा त विद्यालयको क्षमता भन्दा बढी विद्यार्थी भर्नाका लागि आउने गरेका छन् । 
कक्षा कोठा र खुल्ला क्षेत्र अभावका कारण चालु शैक्षिक सत्रमा ३ सयजना भन्दा बढी विद्यार्थी विद्यालयमा भर्ना लिन नसकेको विद्यालयका प्रधानाध्यापक लावण फुयालले बताउनु भयो । एसएसडिपि कार्यक्रमले विद्यालयहरुलाई मात्र होइन विद्यार्थी र अभिभावकहरुमा  समेत  सामुदायिक विद्यालय हाम्रो हो भन्ने धारणाको विकास भएको छ । एसएसडिपि कार्यक्रम सकिए पनि अहिले सरकारले ‘विद्यालय शिक्षा क्षेत्र योजना’ '
School Education Sector Plan' ‘एसईएसपि’ कार्यक्रम ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याउने हरेका कार्यक्रम सामुदायिक विद्यालयहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने अबको हरेक विद्यार्थीहरुको मा.वि. स्तरिय शैक्षिक गन्तव्य सामुदायिक विद्यालय नै हुने उहाँले बताउनु भयो । 
विगतमा सामुदायिक विद्यालयमा अध्यापन राम्रो हुँदैन भन्ने गरेका अभिभावकहरु पनि पछिल्लो समय सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न ल्याउने गरेको विद्यालयका प्रधानाध्यापक फुयालको भनाई छ । विद्यार्थी चाप बढेपछि जन जागृती माविमा चालु शैक्षिक सत्रमा ३ सय जनाभन्दा बढी विद्यार्थी भर्ना लिन सकिएन । अहिले १४ सय जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । थप विद्यार्थी भर्ना लिन विद्यालय भवन र कक्षा कोठाको आवश्यक्ता रहेको फुयालको भनाई छ । विद्यालयमा पर्याप्त खुल्ला क्षेत्र र कक्षाकोठा अभाव हुँदा विद्यार्थी चाप धान्न कठिन परेको प्रधानाध्यापक फुयालले बताउनु भयो । 


एसएसडिपि कार्यक्रम अन्तरगत विद्यार्थीलाई खाजा, सेनेटरी प्याड वितरण देखि शैक्षिक सामाग्री, स्वच्छ खानेपानी, कम्प्युटर ल्याव, विज्ञान कार्यशाला, सिभिल इन्जिनियरका विद्यार्थीलाई प्रयोगात्मक सामाग्री र व्यवस्थित शौचालय लगायतका सहज उपलव्धताले सामुदायिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीको चाप बढेको हो । 

सामुदायिक विद्यालयमा सुविधाहरु थपिँदै गएपछि  विद्यार्थी को शैक्षिक गन्तव्य अब निजी विद्यालय नभई सामुदायिक विद्यालय बन्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले बताउनु भयो ।

अध्यक्ष रुपाखेतीका अनुसार विद्यालयले सीप सहितको सर्टिफिकेट नाराका साथ अध्ययन अध्यापन गर्दै आइरहेको छ  विद्यालय स्तरबाटै सिभिल इन्जिनियरिङ, कम्प्युटर, विज्ञान,संगीत लगायतका विभिन्न विषय अध्यापन हुने भएकाले पछिल्लो समय धादिङ र आसपासका क्षेत्रका विद्यार्थीको गन्तव्य जनजागृती मावि बन्न थालेको उहाँको भनाई छ । उहाँका अनुसार धादिङका यी र अन्य सामुदायिक विद्यालयले समाजको रुपान्तरण सामुदायिक विद्यालयको शिक्षाबाट हुन्छ भन्ने संकल्प लिएर काम गरिरहेको छ । उक्त संकल्पका लागि सरकारले ल्याएको एसएसडिपि कार्यक्रमले थप महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भयो । 
त्यसो त सोहि विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्रा प्रतिक्षा घलान विद्यालयले विद्यार्थीहरुलाई विभिन्न सुविधा सहित अध्ययन अध्यापन गराइरहकोमा खुसी छन् । एसएसडिपी कार्यक्रम अन्तरगत विद्यालयले दिइरहेको सुविधाले उनको अध्ययनलाई सहज बनाएको उनी बताउँछिन् । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको र एउटै कक्षामा धेरै विद्यार्थी बसेर अध्ययन गर्नुपर्दा भने अलि कठिन हुने गरेको उनको भनाई छ । विगतमा विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छोड्ने गरेका थिए । निशुल्क सेनेटरी प्याडको व्यवस्थापछि छात्राहरुले सहजै विद्यालयमा अध्ययन गर्न पाएको बताउनु भयो । 
त्यस्तै कक्षा ९ मा अध्ययनरत छात्र सिशान्त खतिवडा विद्यालयको बाल क्लवमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । विद्यालयमा हुने विभिन्न क्रियाकलापले अध्ययन सँगै आफुलाई सृजनात्मक बनाउन सघाउ पुगेको बताउँछन् । कक्षा १० का छात्र कपिल तामाङ आफ्नो आर्थिक अवस्था कम भएकोले सामुदायिक विद्यालयमा पढ्न आएको बताउँछन् । उक्त विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ती दिने भएकाले सो  विद्यालय आफ्नो रोजाईमा परेको बताउँछन् । कक्षा ९ का छात्रा श्रृषा पौडेल पनि सामुदायिक विद्यालयले निशुल्क विभिन्न दिने सुविधा दिने भएकाले उक्त विद्यालयमा पढ्न आएको बताइन् । 
त्यसो त विद्यालयले दृष्टिविहिन छात्रबास सञ्चालन गरेर दृष्टिविहिन विद्यार्थीहरुलाई पनि अध्ययनको वातावरण मिलाएको छ । धादिङकै दृष्टिविहिन विद्यार्थी जिवेश तामाङ गाउँपालिकामै बसेर ब्रेललिपीमा पढ्न पाउँदा खुसी छन् । उनको भावी लक्ष्य गायक बन्नु हो । विद्यालयले संगीत तथा गायन कक्षा समेत राखिदिएपछि सामुदायिक विद्यालयमै बसेर उनले गायन कक्षा पनि लिइरहेका छन् । अब सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाउँदै लानुपर्ने उनको सरकारलाई सुझाव छ । ९ कक्षामै अध्ययनरत अर्का दृष्टिविहिन छात्र रुविना गुप्ता पनि सोहि विद्यालयमा  छात्रबासमा बसेर पढ्न पाएको खुसी छिन् । उनी विरगञ्जबाट धादिङ आएर उक्त विद्यालयमा भर्ना भएकी हुन् । उनी कक्षा १ देखि नै उक्त विद्यालयमा अध्यनरत छन् । सरकारले ल्याएको एसएसडिपि जस्ता कार्यक्रमहरुले दृष्टिविहिन विद्यार्थीका लागि सहयोग पुगेको उनको भनाई छ । उनी जस्तै २१ दृष्टिविहिन विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् ।  


त्यसो त सिभिल इन्जिनियरिङ पढदै गरेकी कक्षा ११ की छात्रा पनि सामुदायिक विद्यालयबाटै शैक्षिक गन्तव्य पुग्ने अठोतका साथ अध्ययनरत छन् । उनी गायक र सिभिल इन्जिनियर बन्ने लक्ष्यका साथ अध्ययनरत छिन् । कक्षा १० मा अध्ययनरत  विद्यार्थी अनिल तामाङ आफ्नो गाउँको सामुदायिक विद्यालयमा ८ कक्षा सम्म पढेर बाँकी शिक्षा पुरा गर्न उक्त विद्यालयमा आएको बताउँछन् । सामुदायिक विद्यालयहरुमा सरकारले अझै ध्यान दिनुपर्ने विद्यार्थी तामाङको भनाई छ । ग्रामिण वस्तिमा रहेका सामुदायिक विद्यालयहरुमा भने अझै शैक्षिक गुणस्तर र सुविधा कम भएकाले त्यतातर्फ सरकार र स्थानीय तहको ध्यान पुग्नुपर्ने उनको सु्झाव छ । अध्ययनरत जनजागृती माविमा पनि  अन्य शैक्षिक सुधारका कार्य भए पनि विद्यालयमा धेरै विद्यार्थी भएकाले कक्षाकोठाकै समस्या रहेको बताए । सरकारले ल्याउने कार्यक्रमहरुमा विद्यालयहरुमा खेलकुदका लागि खुल्ला जमीन र पर्याप्त विद्यार्थी पढाउन सकिने कक्षा कोठाहरु व्यवस्थित भए सामुदायिक विद्यालय पनि अझ सुविधा सम्पन्न हुने र शैक्षिक गुणस्तर बढ्ने तामाङको धारणा छ ।  


धादिङको थाक्रे गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको यस विद्यालयले  व्यवस्थापन समितिका पदाधकिारी, सदस्यहरु र प्रधानाध्यापक देखि  सबै शिक्षकहरु कर्मचारीका छोराछोरी सोहि विद्यालयमा अनिवार्य अध्ययन गर्ने गराउने परिपाटीको विकास गरेको छ । छोटो समयमा स्थापना भएर पनि अहिले कक्षा १२ सम्म अध्ययन अध्यापन गराउने जनजागृती मावि २०५७  सालमा स्थापना भएको हो । मजदुर र श्रमिकहरुको सहभागितामा स्थापना भएको उक्त विद्यालयमा  १६५ श्रमिक मजदुरका बालबालिकालाई भर्ना गरेर अध्ययन अध्यापन सुरु गरिएको थियो । विद्यालयले छोटो समयमै धादिङ जिल्ला र आसपासका जिल्लामा उदाहरणिय सामुदायिक विद्यालयका रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । मुलुकभरका सामुदायिक विद्यालयमा लागू भएको यो कार्यक्रमको बजेट १० खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । जसमा दातृ निकायको १२ प्रतिशत रकम रहेको थियो ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा