उपराष्ट्रपतिसँग जर्मन राजदूतको भेट

काठमाडाैँ – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गर्नुभएको छ । आज अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो । उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको छ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताउनुभयो । उहाँले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउनुहुदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा उपराष्ट्रपतिले नेपालले सङ्क्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको बताउनुभयो । उहाँले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा सङ्क्रमणकालीन न्यायको काम सम्पन्न हुने बताउनुभयो । 

भेटमा नेपालका लागि जर्मन राजदूतले नेपाल जर्मनको नजिकको मित्र भएको बताउनुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालको सङ्क्रमणकालीन न्यायका काम यथाशक्य शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा