images

जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रबृत्ति

बनेपा -  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विजय घलानलाई एक लाख रुपैयाँ छात्रबृत्ति प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरी एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत पालिकाको वडा नं २ घर भएका घलानलाई जेहेन्दार विद्यार्थी छात्रबृत्तिस्वरुप सो रकम हस्तान्तरण गरेको हो । उहाँ पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भगवान् अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति दिने घोषणाअनुरुप आज रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बताउनुभयो । “पालिका अध्यक्षको पहिलो निर्णयअनुसार आज जेहेन्दार छात्रबृत्तिबापतको एक लाख प्रदान गरेको छौँ”, उहाँले भन्नुभयो, “अध्ययन पूरा गरेर फर्केपछि उहाँलाई पुनः थप रु एक लाख प्रदान गर्ने गाउँपालिकाले निर्णय भएको छ।””

स्थानीय तह निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकामा अध्यक्ष पदमा नवनिर्वाचित हुनुभएपछिको पहिलो बैठकमा अध्यक्ष भगवान अधिकारीले प्रत्येक आर्थिक वर्षमा पाँच किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने, स्नातक तहमा अध्ययनरत प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययनरत जेहेन्दार छात्राछात्रलाई वार्षिकरुपमा छात्रबृत्ति उपलब्ध गराउने र ६० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्करुपमा पूर्ण शरीर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयमध्येको जेहेन्दार छात्रबृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ । यसैबीच बेथानचोक गाउँपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु ५० हजारका दरले नगद वितरण गरिएको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले रकम वितरण गर्ने निर्णय भएअनुरुप आज पालिकाले कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका परिवारलाई काजकिरिया खर्चस्वरुप दुःखद् अवस्थामा रहेको परिवारलाई स्थानीय सरकारको तर्फबाट राहतस्वरुप रकम वितरण गरेको हो । कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएकामा आज ८ परिवारलाई सो रकम विरतण गरेको र बाँकीलाई पछि विरतण गर्ने गाउँपालिकाले जनाएको छ । त्यसैगरी

गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ कञ्चनजङ्गाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बेथानचोकको व्यवस्थापनमा गत वडा नं २, ५ र ६ मा गरेको आँखा शिविरमा परीक्षण भएमध्ये ४१ जनाको आज मोतियबिन्दुको शल्यक्रिया गरिएको छ । यसअघि सहञ्चालन भएको शिविरमा ५१८ जनाको आँखा परीक्षण भएकामा ८३ जनाको मोतियबिन्दु शल्यक्रिया गर्नुपर्ने भएकोमा आज सम्पर्कमा आएका ४१ जनाको शल्यक्रिया गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा