images

'सरकारले हामी जस्ता अभियन्तालाई प्राेत्साहन र सहयाेग हाेइन अपमान गरिरहेका छन्' – यादवलाल कायष्थ

(भिडियो अन्तर्वार्तासहित)

काठमाडौँ । यादवलाल कायष्थ सम्पदाप्रेमी तथा विरोधी दुबैका लागि नौलो नाम होइन । विगत दशकदेखि उनी सामाजिक कार्यमा समर्पित रहँदै आएका छन् । कायष्थ सामाजिक अभियन्ता मात्र हाेईनन्  हिति अर्थात ढुंगेधारा संरक्षक पनि हुन् ।
उनी सम्पदाप्रेमीहरुकाबिच जति नायक पात्रका रूपमा देखिएका छन्, उति नै सम्पदा विरोधी वा मास्नेहरुका लागि खल नायक पात्रका रूपमा पनि चर्चित छन् । ढुंगेधारा  अर्थात हिति संरक्षण गर्ने  भएकाले उनी हितिम्यानका  उपनामले पनि चिनिदैँ आएका छन् । कतै कसैले हिति अर्थात ढुंगेधारा मास्न लागेको थाहा पाउने वितिक्कै  कायस्थ उक्त स्थानमा ढाल बनेर उभिन जान्छन् र सरोकारवालाहरुलाई खबरदारी गर्न पछि हट्दैनन् । यिनै हितिम्यानले विभिन्न ठाउँमा हितिको उत्खनन् गर्दै यसको संरक्षण गर्दै आइरहेका छन् ।


उनले सरकारले दायित्वबोध गर्न नसकेका र समाजबाट लोप हुँदै गइहरेका कयौँ हितिहरुको संरक्षणार्थ राज्यलाई घच्घच्याउँदै आइरहेका छन् । राज्यले चासो नदिएको खण्डमा आफ्नै व्यक्तिगत खर्चमा पनि कयौँ लोपोन्मुख हितिहरुको उत्खनन गरेर उनले समाजमा गतिलो छाप छाडेका छन् । अहोरात्र   ढुंगेधारा लगायत सामाजिक संरक्षणमा खट्दै आइरहेका कायष्थ समय समयमा विवादित पनि बन्ने गरेका छन् । राज्यले नेपालको लोपोन्मुख सास्कृतिप्रति उचित चासो देखाउन नसक्नु विडम्बना रहेको उनको तर्क छ ।  सरकारलाई चुनौती दिँदै हरेक जसो संस्कृतिसँग जोडिएको विरोधसभा तथा कार्यक्रममा उनी सहभागी हुन छोड्दैनन् । 


यीनै कायष्थकै पहलमा केही महिनाअघिमात्र दरबारमार्गस्थित तीन धारा (स्वह्रा हिति) उत्खनन भएको छ । १४ औँ शताब्दीमा निर्माण भएको स्वह्रा हिति विगत ५० बर्षदेखि जमिनको माटोभित्र हराइरहेको थियो । यस्तैमा काठमाडौँको मुटुमा रहेको यस स्थानलाई हत्याएर अवसरवादीहरु यस धार्मिक स्थलमाथि पनि आधुनिक भवन निर्माण गर्नुपर्नेमा जुट्दै थिए । तर अभियन्ता कायष्थकै दबाबमा सरकारलाई निरन्तर घच्घच्याउँदै यस्को उत्खननमा सरकारलाई आत्मबोध गराइयो र अन्तत: यस ढुंगेधाराले फेरी पुर्नजिवन प्राप्त गर्यो ।

यस्तैमा, नेपाल सरकारको पुरातत्व विभागलाई आखिर यस हितिको उत्खनन गरेरै छाड्नुपर्ने बाध्यता बन्यो । विभागले यसका लागि रू.२० लाख बजेट छुट्याएको कायष्थले बताए । तर उत्खनन पश्चात् पनि हितिको उचित संरक्षण हुन नसकेको कायष्थको गुनासो छ । हिति उत्खनन भएपनि यसको संरक्षणमा सरकारको उचित ध्यान नजानु र सरकारले अझै पनि यसलाई बेवास्ताको दृष्टिले हेर्नु आफैमा एउटा दुःखको कुरा भएको उनी बताउँछन् । उनको विचारमा सरकारले हिति संरक्षण अभियानलाई खासै चासो नदिएको र यसलाई परको विषय ठानेको उनी औल्याउँछन् ।

कायष्थ  आफू जस्ताे अभियन्तालाई प्राेत्साहन गरेर सहयाेग गर्नुपर्नेमा उल्टै  अपमान गरिरहेको बताउँछन् । तर पनि तीनधारा हिति उत्खनन पश्चात खुशी देखिएका कायष्थ भन्छन्, 'उत्खनन त गरियो तर संरक्षणमा चुनौती थपिएको छ ।' उनै कायष्थसँग नेपालकुरा मिडियाका उप-सम्पादक रुपक शाक्यले गरेको वार्तालाप जस्ताको तस्तै । 

https://www.youtube.com/watch?v=4hEep3BC1Wg

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा