बाँसको डिकोले लेखेर यहाँसम्म आइ पुगियाे - साहित्यकार प्रेम राई परिक्षित

प्रेम राई परिक्षित  शिक्षा क्षेत्रमा सक्रिय छन् । राई शिक्षासेवी एवं प्याप्सन काठमाडौँका अध्यक्ष हुन् । शिक्षा क्षेत्रसँगै  राई साहित्यमा पनि उत्तिकै सक्रिय छन् । उहाँका 'शहिदकाे सपना'  २०४८ कविता कृति 'बस्तिको चीत्कार' नाटक कृति २०५३ ,बालगीति एल्वम 'बाल सरगम' २०६८, ‘सपना उड्छ माथि माथि - २०७९,  'सपनाहरूको प्रतिस्पर्धा - कविता सङ्ग्रह २०७९', 'रेल यात्रा' बाल गीत सङ्ग्रह २०७९,   'मेरो गीत मेरो प्रतिविम्व' - गीत सङ्ग्रह २०७९,   र दि वन्डरफुल वर्ल्ड’ (अंग्रेजी बाल कविता सङ्ग्रह - २०७९ )  प्रकाशित छन् ।  प्रस्तुत छ उनै सर्जक राई सँग नेपालकुराले गरेकाे साहित्यिक संवाद ।

 

म सामान्य परिवारमा हुर्केको मान्छे हूँ मेरो बाजे किपटवाला भएको हुनाले पहिला धेरै जमीन थियो पछि त हामीलाई जिविकोपार्जन गर्न पनि मुस्किल भएको मैले महशुस गरेको छु

काठमाडौंमा रहेर साहित्य र शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ ।  बताउन मिल्छ भने काठमाडौं आउनु पूर्व तपाइँको जीवनको आधार थलो बारे पाठकहरूलाई बताइदिनु हुन्छ ?

खोटाङ जिल्लाको दक्षिण भेगमा सिम्पानी भन्ने एउटा सुन्दर र घमाईलो ठाउँ  छ । जसको पूर्व पट्टि किराँत राईहरु बस्ने पारिलो घाम लाग्ने एउटा सानो सुन्दर गाउँ छ 'कसेरी' । कसेरी गाउँलाई पश्चिममा काहुले खोला र पूर्वमा मार्से खोलाले अङ्गालो हालेको छ मार्से खोलाले ओल्लो कसेरी र पल्लो कसेरीलाई छुट्टाएको छ। ओल्लो कसेरीमा सुन्तलै सुन्तलाको बोटले ढाकेको करीब दस / बाह्र  घर सुन्तले टोल छ आजभन्दा करीब त्रिपन्न बर्ष अघि   त्यही जन्मेको थिएँ । आम गाउँलेहरुको जीवन जस्तो हुन्छ मेरो पनि त्यो भन्दा पृथक रहेन गाउँले जीवन।

 

पारिवारिक पृष्ठभूमी के हो ?

म सामान्य परिवारमा हुर्केको मान्छे हूँ मेरो बाजे किपटवाला भएको हुनाले पहिला धेरै जमीन थियो पछि त हामीलाई जिविकोपार्जन गर्न पनि मुस्किल भएको मैले महसुश गरेको छु हाम्रो परिवारमा बुवा आमा दाजु र दुई दिदिहरु सहित  जम्मा छ जनाको परिवार भएता पनि बुवा आमा बितिसक्नु भयो । म चाहिँ परिवारको कान्छो सदस्य हूँ । मधेसमा मेरो कान्छो मामा बस्नु हुन्थ्यो । उहाँकै सल्लाहमा आमाले त्यहाँ थोरै जग्गा जोड्नुभएको रहेछ । मामाकै आड भरोसामा हामी उदयपुरको बसाहा भन्ने ठाउँमा बसोबास गर्न थाल्यौँ र मेरो स्थायी बसोबास पनि त्यही हो।

- तपाइँ शिक्षा क्षेत्रमा हुनुहुन्छ । तपाइँको पालाको शिक्षा र अहिलेको शिक्षा क्षेत्रको अवस्था देख्दा कस्तो अनुभूति हुन्छ  ?

 

स्कुलमा म अलि ढिलै भर्ना भएँ हाम्रो घरबाट स्कुल पुग्न करीव एक घण्टा लाग्थ्यो । स्कुलमा गएको पहिलो दिन नै शिशु कक्षाबाट कक्षा एकमा चढ्न सफल भएँ । त्यसबेला अहिलेको जस्तो सुविधा कहाँ  थियो र ?  धुलौटे पाटीमा बाँसको डिकोले लेखेर पढेको हूँ। घरबाटै गोजिमा रातो माटोको धुलो बोकेर जानू पर्थ्यो । रातो माटोले हाफ प्यान्ट पुरै रातो हुन्थ्यो।

कविले समालोचना गर्नु र समालोचकले कविता लेख्नु भनेको मुटुको डाक्टरले नशाको बिरामीलाई उपचार गरे जस्तो हो ।

पछि खोटाङबाट तराई बसाई सरियो। त्यतिबेला म तीन कक्षामा पढ्थे। मधेस झरेपछी नयाँ  ठाउँ,नयाँ परिवेश,नयाँ साथीहरु ।घुलमिल हुन निकै समय लाग्यो मलाई। त्यतिबेला कहाँ धुलौटे पाटी र बाँसको डिको अहिले कहाँ अत्याधुनिक प्रविधि, सामाग्री र शिक्षा कुनै पनि लना योग्य लाग्दैन ।

 

 

- साहित्यको मियो गाडेर कहिलेबाट दाइँ गर्न थाल्नु भयो ?

 

गीत त म सानैदेखि गाउँथें । मेरो साहित्य लेखन गीतबाटै सुरु भएको हो भन्दा पनि हुन्छ ।  मैले नौ कक्षामा पढ्दै गर्दा साहित्य कोर्न थालेको हूँ । नेपाली पुस्तकमा भएका कविताहरु गुरुले मीठो लय हालेर गाउनु हुन्थ्यो । छिमेकी दाइ पनि कविता लेख्नु हुन्थ्यो । हो, त्यसबेला देखिनै कविता गीत कोर्न सिकियो । मलाई साहित्यका अरु विधाले भन्दा गीत कविताले नै गहिराईसम्म छुन्छ । नेपाली किताबमा भएका कविता बाहेक राष्ट्रकवि माधव प्रसाद घिमिरेको शोक काव्य गौरी, महाकवी लक्ष्मिप्रसाद देवकोटाको मुनामदन, भुपी शेरचनका कविताहरु औधी मन पर्छ । म उहाँहरुबाट नै प्रभावित छु । गीतकारहरुमा गोपाल योन्जन हरिभक्त कटुवाल दिनेश अधिकारी रत्नशम्शेर खुब् मन पर्छ । मलाई गहिराई छोएर लेखेको गीत कविता धेरै मन पर्छ।

 

साहित्य किन लेख्नु हुन्छ ?

साहित्य विशेषत: म आत्मसन्तुष्टिका लागि लेख्ने गर्छु । खुसी हुँदा वा दु:खी हुँदा मनको बह पोख्न म साहित्य कोर्ने गर्छु । पछि गएर त्यो आम मानिसहरुका बिषय बन्दो रहेछ ।

 

साहित्यले समाज र मुलुक परिवर्तन गर्न सकिन्छ ?

भनिन्छ, साहित्य समाजको दर्पण हो। यो गलत हो किनभने दर्पणमा वस्तुहरु उल्टो देखिन्छ । त्यसैले साहित्य दर्पण हैन समाजको पथप्रदर्शक हो । साहित्यले दर्शन बिचार, देशभक्तिको भावना बोकेको हुन्छ जसले सामाजलाई दिशावोध गर्दछ। साहित्यले सामाजिक बिसङ्गतिलाई प्रहार गर्दै अग्रगमनका लागि प्रेरित गर्दछ । भूपिशेरचनको " हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए" भन्ने कवितांशले यथास्थितिवादको अन्त्य र देशको आजादिका लागि युवाहरुलाई सडकमा ओर्लन प्रेरित गर्दछ। साहित्य समाज परिवर्तनको प्रमूख संवाहक हो। समाज परिवर्तन भएपछि मुलुकमा परिवर्तन आउन समय लाग्दैन ।

अबको साहित्य फुलपात नदी हिमालको बारेमा भन्दा मानव मानव बिचको बिग्रहलाई समास गर्ने र बिश्वशान्ती भाइचारा बिकास गर्ने वातावरण संरक्षण गर्ने प्रकृतिको हुनुपर्छ।

तपाई त शैक्षिक अभियन्ता र शिक्षक पनि हुनुहुन्छ । साहित्य र शिक्षामा के अन्तर छ ?

शिक्षा भन्दा पहिला साहित्य जन्मिएको हो । मान्छेहरु पढ्न लेख्न नजाने पनि गीत गाएर मनको बह पोख्दछ्न् । समाजमा भएका घटनाहरुलाई गीत बनाएर गाउँदछन् । त्यसैले साहित्यमै शिक्षा छ । शिक्षामा साहित्य नहुन पनि सक्छ । कुनै पनि कुरा मीठो पारामा वा श्रवणयुक्त तरिकाले ब्यक्त गरिने कला नै साहित्य हो । उदाहरणका लागि तरकारी शिक्षा हो भने नुन, भुटुन, मरमसला साहित्य हो । यिनिहरु एकअर्कामा अनुन्याश्रीत सम्बन्ध राख्दछन् ।

 

तपाई कुनकुन विधामा बढी कलम चलाउनु हुन्छ ?

म बिशेषत: काव्य बिधामा कलम चलाउँछु।गद्य कविता,आधुनिक गीत, मुक्तक गजल  लघु कथा पनि लेख्ने गर्छु । तर मेरो विशेष क्षेत्र गीत र कविता सिर्जना नै हो।

इच्छाशक्ति भएमा ठुलाभन्दा ठुला र गाह्रोभन्दा गाह्रो काम सजिलै गर्न सकिने रहेछ । यी पाँच वटा कृतिहरुको टाइप मैले मोबाईलमा गरेको हूँ ।

तपाईको विचारमा विगतको साहित्य र वर्तमान साहित्यमा के फरक छ ?

 

बिधागत रुपमा हेर्दा साहित्य लेखनमा अहिले विविधता थपिएको छ । साहित्यको स्ट्रक्चरमा मात्र हैन समाज परिवर्तन सँगै समाजको अपेक्षामा पनि विविधिकरण आएको छ । यो सँगै साहित्यका बिषयवस्तु पनि व्यापक भएर गएको छ । अहिले साहित्यकारहरुले आफ्ना कृति लेख रचनाहरु डिजिटलाइज गर्ने अवसर आएको छ भने सिर्जना चोरी हुने चुनौती पनि उतिकै छ । अर्को कुरा स्तरीय साहित्य लेख्ने स्रष्टाहरु साहित्यलेखनबाटै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गैरहेको छ । यो अत्यन्त खुसिको कुरा हो।

लेखकले आफ्नो ब्रम्हले देखेको कुरा लेख्ने हो । आफुले अनुभुत गरेको कुरा लेख्ने हो । अरुले मन पराउलान् कि मन नपराउलान भनेर लेख्ने नै हैन र त्यसरी लेखिन्न पनि । लेखकले आफ्नो अनुभूति लेख्ने हो र पछि गएर त्यो आम मानिसको जीवनमा मेल खान जान्छ र त्यो कृतीले जिवन्तता पाउँदछ।

त्यसो हो भने नेपालमा साहित्य लेखेर जीवन निर्वाह गर्न सकिने अवस्था छ भन्न खोज्नु भएको हो ?

राम्रो र स्तरीय साहित्य लेख्ने साहित्यकारहरुका लागि साहित्य लेखनले नै जीवन निर्वाह गर्न सहज हुँदै गरेको अवस्था हो यसमा पनि आख्यान बिधा र बाल साहित्यको बजार राम्रो छ कविता अलि बुझ्न गाह्रो बिधा हो तर साहित्य विधामा कविता नम्बर एक बिधा हो । तर पनि कविता बिधा अझ पनि पुस सेलिङ मै चलेको छ। 

 

 

वर्तमान समयमा शिक्षा क्षेत्रमा साहित्यको प्रभावकारिता कस्तो छ ?

साहित्यको आफ्नो बेग्लै महत्त्व त छदै छ त्यसको अलवा साहित्य बिनाको शिक्षा निरस हुन्छ । सिकाईलाई मिठासपूर्ण बनाउन सरल र दिर्घकालीन बनाउन साहित्य अपरिहार्य तत्व हो त्यसैले वर्तमान शिक्षामा सहित्यको अत्यन्तै ठूलो प्रभाव छ।

 

अधिकांश साहित्यकाराहरुले पार्टिको झण्डा पक्रेको देख्छु । उनीहरु सम्बन्धित निकायमा आए पछि पनि त्यसैलाई पश्रय दिने कुरा अचम्म हैन ।

विदेशी साहित्य कतिको अध्ययन गर्नु हुन्छ ?  

त्यति धेरै अध्ययन गरेको छैन।

 

नेपाली साहित्यको स्तर कुन स्थानमा देख्नुहुन्छ

नेपाली साहित्यको स्थान जति माथि हुनुपर्ने हो त्यो भएको छैन । नेपाली साहित्यमा धेरै स्तरीय कृतिहरु छ्न् तर राम्रा अनुबादकको कमीले गर्दा त्यसलाई बिश्व बजारमा प्रवर्द्धन गर्न सकिएको छैन र राज्यको पनि त्यति ठूलो चासो देखिन्न । साहित्य प्रवर्द्धन गर्न र साहित्यकारहरुलाई प्रोत्साहन गर्न राज्यको खासै स्प्ष्ट नीति पनि देखिदैन । तर नेपाली साहित्यलाई निजि स्तरबाट बिश्वभर पुर्याउने काम तिब्र भैरहेको छ।

 

साहित्य सृजना गर्ने कुनै विशेषा समय हुन्छ भन्ने लाग्छ ?

साहित्य सिर्जना गर्ने मेरो खासै कुनै स्पष्ट तालिका छैन । कुनै कुराले भित्री मनमा छोयो भने बाटैमा पनि लेखी दिन्छु।प्रायः एक्लै भएको समयमा साहित्य स्फुरन हुन्छ । मेरो बिचारमा असाधरण अवस्थामा मात्र स्तरीय साहित्यको जन्म हुन्छ।

 

अबको साहित्य कस्तो हुनुपर्ला ?

अबको साहित्य फुलपात नदी हिमालको बारेमा भन्दा मानव मानव बिचको बिग्रहलाई समास गर्ने र बिश्वशान्ती भाइचारा बिकास गर्ने वातावरण संरक्षण गर्ने प्रकृतिको हुनुपर्छ।

 

लेखकले पाठकको अभिरुचीलाई ध्यान दिनु जरुरी छ कि छैन ?

लेखकले आफ्नो ब्रम्हले देखेको कुरा लेख्ने हो । आफुले अनुभुत गरेको कुरा लेख्ने हो । अरुले मन पराउलान् कि मन नपराउलान भनेर लेख्ने नै हैन र त्यसरी लेखिन्न पनि । लेखकले आफ्नो अनुभूति लेख्ने हो र पछि गएर त्यो आम मानिसको जीवनमा मेल खान जान्छ र त्यो कृतीले जिवन्तता पाउँदछ।

कविता " असुचिकृत छोरी"मा हाम्रो समाजमा छोरी भन्दा जनावर सुरक्षित भएको र छोरीभन्दा पाटेबाघ, रातो पाण्डा, एक सिङ्हे गैंडा घरियाल गोहि बनाईदिन बाबुलाईगरेको अनुरोध उनको साङ्केतिक बिद्रोह थियो । तर समिक्षकले त्यसलाई पनि बिसर्जनबाद मानेर खुब आलोचना गरे ।

तपाईले एकैपटक ५ वटा किताब लोकार्पण गर्नु भयो ? यस्तो कसरी सम्भव भयो

मैले २०४८ सालमा पहिलो कविता कृति प्रकाशन गरें । त्यसपाछी २०५३ सालमा नाटक " बस्तिको चीत्कार" अनि २०६८ सालमा बालगीति एल्वम " बाल सरगम" निकालेँ । गीत लेख्छु भनेर लेखिन्न रहेछ र लेख्दिन भन्दा भावनाको ज्वार उठ्छ र अनायास  लेख्न बाध्य बनाउँदो रहेछ । गीत र कविताको कुरा गर्दा कहिले बाटोमा हिड्दै गर्दा लेखेकोछु । कहिले गाडी चलाउँदै गर्दा रोकेर लेखेकोछु । कहिले मद्यरातमा ब्युँझिएर लेखेको छु । जे होस् थुप्रै गीत लेखेको छु तर पाठक सामु ल्याउन सकेको भने  थिइनँ ,कारण कहिले समयाभाव, कहिले आर्थिक अभाव, त कहिले जाँगरको अभाव । अभावै अभाव छ जताततै हर पाईला हर मिनेट । अहिले पनि २१ ओटा पाण्डुलिपी तयारी अवस्थामा छ्न् । २०६८ सालदेखि २०७८ सालसम्म मैले लेखेँ मात्र प्रकाशन गर्न सकिनँ । मैले आफु धेरै पछि परेको अनुभव गरेँ । आफु भन्दा कनिष्टहरु र मैले कविता लेख्न सिकाएका भाइहरु कृति प्रकाशन र अन्य हिसाबले म भन्दा  धेरै अगाडि थिए । म भने गुमनाम थिएँ । त्यसैले मैले फरक विधाका पाँच कृतिहरुलप्रकाशन गर्ने अठोट गरेँ । यसमा ईटर्नल प्रकाशनले मलाई साथ दियो र सम्भव भयो। पाण्डुलिपि त तयारी अवस्थामा नै थियो।

तपाईको किताबबाट पाठकले के पाउने ?

पहिलो त पाँचैवटा कृति को पाण्डुलिपी मैले मोबाइलमा टाइप गरेको हूँ । इच्छाशक्ति भएमा ठुलाभन्दा ठुला र गाह्रोभन्दा गाह्रो काम सजिलै गर्न सकिने रहेछ । यी पाँच वटा कृतिहरुको टाइप मैले मोबाईलमा गरेको हूँ । मेरा यी पाँच कृतिहरु मध्ये तीन ओटा बालसाहित्य हुन् । यसबाट हामीले वालबालिकालाई गितबाटै बिबिध बिषयहरु जस्तै संस्कार,सहकार्य , प्रकृति समुदाय, परिवार, माया ममता, एकता  सद्भाव आदि धेरै सिकाउन सकिन्छ । साथै कविता सङ्ग्रह अस्तित्ववाद केन्दृत छ । अरुको अस्तित्वको पनि सम्मान गरियो भने पृथ्वीमा शान्ति र अमनचयन हुन्छ । मेरो लेखनको मूल भाव यहि हो। सामाजिक विभेद, जातीय विभेद अनि लैङ्गिक विभेद अन्त्य पनि मेरो लेखनके उद्देश्य हो । मेरा कृतिहरुले सामाजिक सचेतना ल्याउने कुरामा म आशावादी छु।

 

तपाइँलाई कस्तो साहित्य लेख्नपाए हुन्छ जस्तो लागिरहन्छ ?

राजनिति देशको मूल नीति हो । यो मूल नीति नै धमिलिएको छ । त्यसैले हाम्रो समाजमा बिग्रह आएको छ । बिग्रहित समाजलाई जोड्न आत्मनिर्भतालाई उत्प्रेरित गर्ने राजनिति लिगमा ल्याउने खालको साहित्य सिर्जना आवस्यक छ र यस्ता बिषयमा अब्वल साहित्य सिर्जना गर्न मन लाग्छ।

  साहित्यमा पनि राम्रा भन्दा हाम्रा बढी विक्छन् भनिन्छ नि खासमा यस्तै छ वा फरक

 

धेरै हदसम्म यो कुरामा सहमत छु । अधिकांश साहित्यकाराहरुले पार्टिको झण्डा पक्रेको देख्छु । उनीहरु सम्बन्धित निकायमा आए पछि पनि त्यसैलाई पश्रय दिने कुरा अचम्म हैन । अर्को कुरा साहित्यकारहरुको धेरै समूह  छ । आफ्नो समूहको सदस्यलाई अगाडि बढाउनै पर्यो । यो स्वभाबिक पनि छ । तर यसले स्वतन्त्र साहित्यकारलाई छायाँमा पार्ने निश्चित छ ।

 

साहित्य र जीवनलाई जोडेर हेर्दा खासमा जीवन के रहेछ

जीवन श्वास हो र श्वास एक अनुभूति हो किनभने अनुभूति सकिएपछि जीवन निर्जीव हुन्छ। अनुभूतीलेनै मानिस जनावर भन्दा फरक भएको हो । त्यसैले जीवन अनुभूतीहरुको असम्पादित पाण्डुलिपी हो।

 

भनिन्छ, लेखकहरु आफ्नो कमजोरी स्विकार्न गाह्रो मान्छन् । तपाइँलाई पनि त्यस्तै हुन्छ

कतिपय कुरामा लेखकहरुको पनि कमजोरी हुन्छ । तर कतिपयले भाषिक शुद्धतामा गल्ती औल्याउछ्न् । कतिपय स्ट्रक्चर वा छन्द नमिलेको कुरामा चाहिँ गल्ती स्विकार्नै पर्छ । तर भाषिक शुद्धता त भाषा सम्पादकले हेर्ने बिषय हो । श्रष्टाले बस सिर्जना गर्ने हो । सिर्जना गर्दा भाषिक सुद्धता भएमा सुनमा सुगन्ध हुन्छ नै । तर त्यसैलाई आलोचनाको मुख्य विषयवस्तु बनाईनु हुन्न । मेरो कुरा के हो भने आलोचना उचित हुनुपर्छ र कुनै पनि कुरामा आग्रह पूर्वाग्रह राखेर गरिनु हुदैन । त्यो स्वच्छ हुनुपर्छ।

 

लेखकहरुले समिक्षक वा समालोचकलाई खुब गाली गर्छन् नि किन

साहित्यकारहरुको हरेक कुरालाई हेर्ने आफ्नो दृष्टिकोण हुन्छ । तर समालोचकहरुले त्यसलाई आफ्नो दृष्टिकोणबाट आलोचना गर्ने गरेको पाइन्छ । मेरो एउटा कविता "राता मान्छेहरु" मा  मैले महिलाहरुले तीजको बेलामा आफ्नो जीवन साथी प्रतिको प्रेम भाव र त्यागको कदर गर्दै लेखेको थिएँ । तर समिक्षकले महिला शसक्तिकरण सँग जोडेर खुब आलोचना गरे । त्यस्तै अर्को कविता " असुचिकृत छोरी"मा हाम्रो समाजमा छोरी भन्दा जनावर सुरक्षित भएको र छोरीभन्दा पाटेबाघ, रातो पाण्डा, एक सिङ्हे गैंडा घरियाल गोहि बनाईदिन बाबुलाईगरेको अनुरोध उनको साङ्केतिक बिद्रोह थियो । तर समिक्षकले त्यसलाई पनि बिसर्जनबाद मानेर खुब आलोचना गरे । यो समालोचकमा समालोचना चेत नभएको मान्न सकिन्छ । त्यसैले,समालोचक र  समिक्षक आफ्नै कारण आलोचित छ्न् ।

 

तपाइँको नजरमा मुलुकका समालोचक वा समिक्षक कस्ता छन् ? उनीहरुले कृतिहरुलाई न्याय गर्न सकेका छन् ?  

भनिन्छ, कवि बिग्रीएपछि समालोचक बन्छ । नेपालमा समालोचना बिषय अध्ययन गरेर समालोचक बनेका समालोचकहरु नगण्य छन् । अहिले विश्वविद्यालयहरुमा नेपाली बिभागमा विद्यार्थी  शून्य छ । कृतिको गहिराईमा पुगेर समालोचना गर्ने समालोचक पाउन गाह्रो छ ।  किनभने अहिले हरेक कुरामा बढी बजारिकरण भएको छ । त्यसैले समालोचक र समिक्षक काम  चलाउ भएको छ । यो चिन्तनीय बिषय हो।

 

समालोचक कस्तो हुनुपर्छ एक लेखक समालोचक बन्न सक्छ कि सक्दैन ?

लेखकले समालोचना गर्न त सक्छ । तर लेखक लेखक नै भएको वेश लाग्छ किनभने त्यसमा बिषय विज्ञता कम हुन्छ । कविले समालोचना गर्नु र समालोचकले कविता लेख्नु भनेको मुटुको डाक्टरले नशाको बिरामीलाई उपचार गरे जस्तो हो । अन्तमा, अनलाईन र पत्रपत्रिकाहरुले पनि श्रष्टाहरुको सृजना प्रकाशन गरेवापत केही पारिश्रमिक दिए सर्जकलाई प्रोत्साहन हुने थियो ।

(साहित्यकार,शिक्षासेवी एवं प्याप्सन काठमाडौँ अध्यक्ष प्रेम राई परिक्षितसँग नेपालकुराका लागि  जितेन्द्र रसिकले गरेको साहित्यिक अन्तरसंवाद )

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा